युएई–नेपाल सिरिज भोलिदेखि
काठमाडौं, माघ १०: युएईविरूद्ध नेपालको अन्तर्राष्ट्रिय क्रिकेट सिरिज शुक्रबारदेखि सुरू हुँदैछ । दुबईको आईसीसी एकेडेमीमा हुने सिरिजमा १६ सदस्यीय नेपाली ....

काठमाडौं, माघ १०: युएईविरूद्ध नेपालको अन्तर्राष्ट्रिय क्रिकेट सिरिज शुक्रबारदेखि सुरू हुँदैछ । दुबईको आईसीसी एकेडेमीमा हुने सिरिजमा १६ सदस्यीय नेपाली टोलीको नेतृत्व पारस खड्काले गर्दैछन् । सिरिज अन्तर्गत नेपाली टिमले युएईविरूद्ध तीन वटा एकदिवसीय र तीन वटा टी–२० क्रिकेट खेल्नेछ ।
टिम
सिरिजमा सबैको आँखा सन्दीप लामिछाने र कप्तान पारस खड्कामाथि छ । बिरामी शरद भेषवाकरले टिमबाट नाम फिर्ता लिएका छन् । अविनाश बोहरा, भीम सार्की, पवन सर्राफ र सन्दीप जोरा सिनियर टिममा समावेश गरिएका छन् ।
एक वर्षअघि यही मैदानमा भएको खेलपछि लेग–स्पिनर सन्दीप लामिछानेलाई तत्कालीन डेल्ही डेयरडेभिल्सले आईपिएलका लागि छनोट गरेको थियो । त्यसयता लामिछानेले प्रायः सबै टी–२०, अष्ट्रेलियाको बिग ब्यास र बंगलादेशको प्रिमियर लिग खेलिसकेका छन् ।
नेपाली टिमका कप्तान खड्काले भेषवाकरको अनुपस्थितिले खेलमा प्रभाव पर्ने र व्याटिङमा सुधार गनुपर्ने यसअघि नै बताइसकेका छन् ।
यसपटक युएईका तीन प्रभावशाली खेलाडी पूर्व–कप्तान रोहन मुस्तफा, अहमद राजा र रमिज शाहजाद टिममा हुने छैनन् । ईमिरेट्स क्रिकेट बोर्ड (ईसीबी) को आचारसंहिता उल्लंघन गरेको आरोपमा उनीहरूलाई आठ साताका लागि निलम्बन गरिएको छ । टिमको नेतृत्व मोहम्मद नाविदले गर्नेछन् ।
खेल कस्तो होला ?
नेपाल र युएई एक–अर्कासँग परिचित प्रतिद्वन्द्वी हुन् । दुवै देशले एसीसीमा प्रतिस्पर्धा गर्दै आएका छन् । गत फेब्रुअरीमा नामिबियामा भएको वल्र्ड क्रिकेट लिग डिभिजन–२ र त्यसपछि वल्र्डकप क्वालिफायरमा पनि एक–अर्का विरूद्ध खेलेका थिए ।
दुवै टिम सशक्त छन् । वल्र्ड क्रिकेट लिग डिजिभन–२ को समूह विजेता नेपाल फाईनलमा युएईबाट पराजित भयो । त्यसपछि जिम्बाब्वेमा भएको वार्म–अप म्याचमा नेपालले युएईलाई हराएको थियो ।
सेप्टेम्बरमा सम्पन्न एशिया कप क्वालिफायरमा नेपाली टिम युएईसँग हारेको थियो । तर दुवै देश एशिया कपका लागि छनोट भएनन् । सन् २०१२ मा शारजहाँमा भएको एसीसी ट्रफीको फाईनल खेल बराबरी सकिएपछि नेपाल र युएईले उपाधि बाँडेका थिए ।
नेपालको यो दोश्रो एकदिवसीय क्रिकेट सिरिज हो । नेपाली टिमले यस अघि सन् २०१८ मा नेदरल्यान्ड्स विरूद्ध पहिलो एकदिवसीय क्रिकेट खेलेको थियो । दुई खेलको उक्त श्रृंखला एक–एक जीतको बराबरीमा सकिएकोे थियो । नेपालले गत वर्ष मात्रै आईसीसीबाट एकदिवसीय क्रिकेट खेल्ने राष्ट्रको मान्यता पाएको हो । आईसीसीको एकदिवसीय मान्यता पाउने नेपाल कान्छो टिम हो ।
सिरिजको तालिका निम्नानुसार रहेको छ
– माघ ११ गते – पहिलो एकदिवसीय
– माघ १२ गते – दोश्रो एकदिवसीय
– माघ १४ गते – तेश्रो एकदिवसीय
– माघ १७ गते – पहिलो टी–२०
– माघ १८ गते – दोश्रो टी–२०
– माघ २० गते – तेश्रो टी–२०
नेपाली खेलाडीहरू
१. पारस खड्का (कप्तान)
२. ज्ञानेन्द्र मल्ल (उपकप्तान)
३. अविनाश बोहरा
४. वसन्त रेग्मी
५. भीम सार्की
६. विनोद भण्डारी
७. दिपेन्द्र सिंह ऐरी
८. करण केसी
९. ललित नारायण राजवंशी
१०. आरिफ शेख
११. पवन सर्राफ
१२. प्रदीप ऐरी
१३. रोहित कुमार पौडेल
१४. सन्दीप लामिछाने
१५. सोमपाल कामी
१६. सन्दीप जोरा
वैकल्पिक खेलाडीहरू
१७. सुशन भारी
१८. ललित भण्डारी
१९. विक्रम सोब











