छालादानसम्बन्धी कानुन नहुँदा ‘स्किन बैंक’ बन्द
काठमाडौ, वैशाख २९ : चार वर्षसम्म सरकारले छालादान तथा प्रत्यारोणसम्बन्धी कानुन नबनाएपछि कीर्तिपुर अस्पतालस्थित ‘स्किन बैंक’ बन्द भएको छ।
काठमाडौ, वैशाख २९ : चार वर्षसम्म सरकारले छालादान तथा प्रत्यारोणसम्बन्धी कानुन नबनाएपछि कीर्तिपुर अस्पतालस्थित ‘स्किन बैंक’ बन्द भएको छ।
चार वर्षदेखि कीर्तिपुर अस्पतालले सञ्चालनमा ल्याएको ‘स्किन बैंक’ दुई महिना बन्द गरिएको हो। ‘कानुनको अभावमा छाला दान गर्ने प्रक्रिया झञ्जटिलो भएकाले स्किन बैंक बन्द गरेका छौं,’ कीर्तिपुर अस्पतालका बर्न तथा प्लास्टिक सर्जरी विभाग प्रमुख डा.शंकरमान राइले भने। अहिले छालादानसम्बन्धीको गतिबिधी बन्द रहेका छन्।
नेपालमा छालादानसम्बन्धी स्पष्ट कानुन छैन्। अंगप्रत्यारोपण कानुनअन्तर्गत नै छाला पनि प्रत्यारोपण गरिँदै आएको छ। तर, छुट्टै कानुन नहुँदा छाला दान र प्रत्यारोणसम्बन्धी प्रक्रिया झञ्जटिलो बनेको कीर्तिपुर अस्पतालले जनाएको छ।
छालादान गर्न तथा प्रत्यारोपणमा सहजताका लागि कीर्तिपुर अस्पतालले सन् २०१४ मा ‘स्किन बैंक’ स्थापना गरेको हो। छालादानसम्बन्धी झञ्जटिलो प्रक्रियाका कारण पनि दान गर्नेको संख्या न्यून छ। अस्पतालका अनुसार, अहिलेसम्म १९ जनाले मृत्युपश्चात छालादान गरेका छन्।
मानव अंग प्रत्यारोपणसम्बन्धी ऐनमा परिवारका सदस्य, नजिकका नातेदार, दुई वा दुईभन्दा बढी परिवारका सदस्यका नातेदार, धर्मपुत्र, धर्मपुत्री र मष्तिस्क मृत्यु भएकाहरूले अंग दान गर्ने उल्लेख छ। तर, यसले छालादान गर्न समस्या भएको छ। जसले पनि दान गर्न सक्ने गरी र प्रत्यारोण गर्न पाउने गरी छालादानसम्बन्धी छुट्टै कानुन ल्याउनु पर्ने चिकित्सकहरू बताउँछन्।
कीर्तिपुर अस्पताल र चिकित्सकहरूले बारम्बार अनुरोध गर्दा पनि सरकारले वास्ता गरेको छैन्। जसका कारण चार वर्षसम्म छालादानसम्बन्धी कानुन नबन्दा ‘स्किन बैंक’ बन्द गर्नु परेको अस्पतालले जनाएको छ। अब यससम्बन्धी कानुन बनेपछि मात्रै ‘स्किन बैंक’ संचालनमा ल्याउने डा.राईले बताए।
नेपालमा जलनको समस्या अत्यधिक छ। कीर्तिपुर अस्पतालमा पनि दैनिक तीन–चार जना छाला प्रत्यारोपण गर्नु पर्ने बिरामी आउने गरेका छन्। चिकित्सकका अनुसार, ३० प्रतिशतभन्दा बढी शरीर जलेका बिरामीलाई छाला प्रत्यारोण गर्नु पर्छ।
त्यस्तै, २० प्रतिशतभन्दा बढी गहिरो गरी छाला जलेमा पनि प्रत्यारोण गर्नुपर्छ। ‘सामान्य जलेको ठाउँमा त अर्को भागको छाला राख्न सकिन्छ, तर, २० प्रतिशतभन्दा माथि गहिरो गरी छाला जलेमा प्रत्यारोपण गर्नुपर्छ,’ डा.राइले भने।
छालाको अभावमा शल्यक्रिया गर्न समस्या हुने गरेको अस्पतालले जनाएको छ। ‘गहिरो गरी जलिसकेको भागलाई निको पार्न अप्रेशन गर्नुपर्छ। अप्रेशन गर्दा जलेको छाला सबै फाल्नुपर्ने हुन्छ,’ डा.राईले भने, ‘छाला नभए त्यही छाला राख्दा त्यसले शरीरको अन्य भागलाइ असर गर्छ। अहिले जलेका बिरामीमा ज्यान जाने अधिकांशको समस्या यस्तै छ।’
यससँगै चेतनाको अवभाले छालादान गर्नेको संख्या पनि कमै छ। रगतलगायतका शरीरका अन्य अंग दान गर्नेको संख्या बढ्दै गएको भएपनि छालादान गर्ने नपाइने गरेको अस्पतालले जनाएको छ। छालादानसम्बन्धी चेतना जगाउँन आवश्यक रहेकाे कीर्तिपुर अस्पतालकी बर्न अवेर्नेस कार्यक्रम अधिकृत पद्मशोभा महर्जनले बताइन्।
महर्जनले भनिन्, ‘अन्य अंगदान गरेजस्तै छालादान गर्दा पनि कुनै असर पर्दैन्, छालादान गर्न सबैलाई अनुरोध गर्दछु। एकजनाले गरेको छालादानले कयौंको ज्यान जोगाउँन सकिन्छ।'