मदन भण्डारी लोकमार्ग : पूर्वी खण्डको निर्माण अन्तिम चरणमा
काठमाडौं, मंसिर २२ : पूर्वपश्चिम राजमार्गको विकल्पका रूपमा अगाडि बढाइएको मदन भण्डारी लोकमार्गअन्तर्गत धरान–चतरा–सिन्धुली–हेटौंडा खण्डको काम अन्तिम चरणमा पुगेको छ। झापाको बाहुनडाँगीस्थित मिर्चीडाँगी चोकबाट...
काठमाडौं, मंसिर २२ : पूर्वपश्चिम राजमार्गको विकल्पका रूपमा अगाडि बढाइएको मदन भण्डारी लोकमार्गअन्तर्गत धरान–चतरा–सिन्धुली–हेटौंडा खण्डको काम अन्तिम चरणमा पुगेको छ।
झापाको बाहुनडाँगीस्थित मिर्चीडाँगी चोकबाट चुरेको फेदी हुँदै पश्चिममा डडेलधुराको रूपाल पुग्ने करिब एक हजार २ सय ५० किमि लोकमार्गको २ सय ५० किमि लामो यो खण्डमा सडक निर्माण ९५ प्रतिशत र पुल निर्माण ८५ प्रतिशत सकिएको छ। चालू आर्थिक वर्षभित्रै सो आयोजना सम्पन्न गर्न लक्ष्य लिएको मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयले जनाएको छ।
पहिलो चौमासिकमा यो आयोजनामा तुलनात्मक रुपमा बढी काम भएको सडक विभागले जनाएको छ। धरान–चतरा–हेटौँडा खण्डको २५० किलोमिटर सडकमध्ये अहिले २५ किमी सडकमा कालोपत्रको काम भइरहेको निर्देशनालयका प्रमुख उमेशबिन्दु श्रेष्ठले बताए। यो खण्डमा ७६ पुल निर्माण गर्नुपर्नेमा दुई पुल मात्रै निर्माण सम्पन्न हुन बाँकी छ। उनले भने, “दुई पुल पनि चाँडै सकिने देखिएका छ।”
भर्खर ठेक्का सम्झौता भएकाबाहेक अरू पुल निर्माण पूरा हुन लागेको हो। यही खण्डमा १८ पुल निर्माणका लागि गत असारमा ठेक्का सम्झौता भएको प्रमुख श्रेष्ठले जानकारी दिए। उनले भने, “यी पुल सकिन अझै साढे तीन वर्ष लाग्नेछ।” पहिलो त्रैमासिकसम्ममा यो आयोजनाले रु ५४ करोड ९यो आवको बजेटको १८ प्रतिशत० भुक्तानी गरिसकेको छ।
अर्थ मन्त्रालयले चालु आवमा विनियोजन गरेको बजेट पर्याप्त नहुने भएकाले थप बजेटको आवश्यकता पर्ने प्रमुख श्रेष्ठले बताए। उनका अनुसार विनियोजित बजेटभन्दा दोब्बर खर्च हुने देखिएको छ। उनले भने, “यही गतिमा काम हुँदा खर्च धेरै हुने देखिएको छ।”
आयोजनालाई पूर्वी र पश्चिम खण्ड गरी बाँडिएको छ। जसमध्ये पूर्वी खण्डको निर्माण झण्डै सकिने चरणमा हुँदा पश्चिम खण्डमा भने डिजाइनको तयारी अघि बढाइएको आयोजनाले जनाएको छ। पश्चिम खण्डमा चालु आवभित्रै डिजाइन भएपछि कुनै कुनै खण्डमा निर्माणको प्रक्रियामा जाने उनको भनाइ छ। यो वर्ष तीन÷चार सडक खण्डको ठेक्कामा जाने योजना रहेको छ। उनले भने, “यो वर्ष डिजाइन र ठेक्का शुरु हुँदा आगामी वर्षबाट निर्माण शुरु हुनेछ।”
विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ का कारण निर्माणमा पनि बाधा पुगेको थियो। कोभिडको समयमा काम गर्न सहज नभए पनि प्रशासन र स्थानीय तहसँगको समन्वयमा निर्माणलाई अघि बढाइएको आयोजनाले जनाएको छ। स्वास्थ्य मापदण्ड अपनाएर निर्माण गरिएको प्रमुख श्रेष्ठले बताए। उनका अनुसार अझै पनि सामान्य अवस्थामा जसरी काम गर्न वातावरण बनिसकेको छैन। उनले भने, “हामीले अझै चैत पहिले जसरी गर्न सकेका छैनौँ।”
सो आयोजनामा निर्माणका क्रममा पहिले जग्गाको समस्या देखिए पनि त्यसको समाधान भइसकेको छ। पहिले नै सञ्चालनमा रहेका टुक्रा–टुक्रा सडकलाई राजमार्ग घोषणा गरेसँगै स्थानीयवासीले सडकको मापदण्डका कारण अप्ठेरो पर्ने बताएका थिए।
वन क्षेत्रमा विभिन्न समस्या भएकामा सरोकार राख्ने निकायसँगको समन्वयमा समाधान गरिएको थियो। राष्ट्रिय राजमार्गको मापदण्ड चौडाइ ५० मिटर हुने भए पनि हाल नौदेखि ११ मिटर चौडाइमा कालोपत्र भइरहेको छ। तराईमा ११ र पहाडी क्षेत्रमा नौ मिटर चौडाइ कायम गरिएको उनले बताए। उनले भने, “पहिले पाँच मिटरसमेत नभएकामा हामीले विस्तार गरेर निर्माण गरिरहेका छौँ।”
आयोजनाको निर्माण विसं २०८२ मा सम्पन्न गर्ने लक्ष्य लिइएको छ। सरकारको उच्च प्राथमिकतामा रहेको पूर्व–पश्चिम जोड्ने वैकल्पिक सडक मदन भण्डारी राजमार्गको निर्माण कार्य तीव्र गतिमा अगाडि बढेको छ। आयोजनामा पहिले नै भएका सडकको स्तरोन्नतिको काम भइरहँदा सवारीसाधन सञ्चालन भइरहको प्रमुख श्रेष्ठले बताए।
नयाँ ट्र्याक खोल्नेभन्दा पनि पहिले नै सञ्चालनमा रहेका सडकलाई स्तरोन्नतिको काम यो राजमार्गमा बढी भएको छ। विगतदेखि नै विभिन्न निकायले सडकमा पूर्वाधार निर्माण र कालोपत्र गर्दै आएका थिए। अझ पनि एक तिहाइभन्दा बढी सडकको निर्माण सडक विभाग अन्तर्गतकै डिभिजन सडक कार्यालयहरुले गरिरहेका छन्। राजमार्गको लम्बाइ एक हजार २५० किमी भए पनि अहिले आयोजनाले ७६५ किमी सडकमा मात्रै निर्माणको काम गरिरहेको छ।
सडक निर्माणलाई गति दिनकै लागि आयोजनाले हाल चार ठाउँमा कार्यालय स्थापना गर्न लागिएको जनाएको छ। निर्देशनालयअन्तर्गत अहिले झापाको दमक, उदयपुरको गाईघाट, गुल्मीको तम्घास र मकवानपुरको हेटौँडामा कार्यालय छन्। दाङ, सुर्खेत लगायत डिभिजन सडक कार्यालयले पनि राजमार्गमा निर्माणको काम गरिररहेका छन्।
पूर्व–पश्चिम राजमार्ग, मध्यपहाडी लोकमार्ग र हुलाकी राजमार्गपछि यो पूर्वपश्चिम जोड्ने चौथो राजमार्गका रुपमा रहेको छ। नयाँ ट्र्याक खोल्नेभन्दा सञ्चालनमा रहेका टुक्राटुक्रा सडक जोडेर राजमार्गको निर्माण भइरहेको छ। विसं २०७३ मा धरान–चतरा–गाईघाट–कटारी–सिन्धुली–हेटौँडा सडक आयोजनाको नाममा यो आयोजना शुरु भएको थियो। दुई वर्षपहिले सरकारको निर्णयानुसार सडकको नामकरण गरिएको हो। रासस












