Kathmandu Press

सेतो मच्छेन्द्रनाथ आगमघर पुनःनिर्माण अन्तिम चरणमा

काठमाडौं, मंसिर २२ : विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त सेतो मच्छेन्द्रनाथको आगमघर पुनःनिर्माण अन्तिमचरणमा पुगेको छ। आगमघर स्थानीयवासीको सहभागितमा पुनःनिर्माण भएको...
सेतो मच्छेन्द्रनाथ आगमघर पुनःनिर्माण अन्तिम चरणमा

काठमाडौं, मंसिर २२ : विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त सेतो मच्छेन्द्रनाथको आगमघर पुनःनिर्माण अन्तिमचरणमा पुगेको छ। आगमघर स्थानीयवासीको सहभागितमा पुनःनिर्माण भएको हो। श्री आर्यावलोकितेश्वर सुधार समूहले तीन करोड ५० लाख रुपैयाँको लागतमा पुनःनिर्माण गरेको हो। पुनःनिर्माणका लागि काठमाडौँ महानगरपालिका र वाग्मती प्रदेश सरकारले समेत सहयोग गरेको समूहको अध्यक्षसमेत रहनुभएका महानगरपालिका–२५ का अध्यक्ष नीलकाजी शाक्यले जानकारी दिए।
 
महानगरपालिकाले काठका लागि ८० लाख र छानाका लागि ८५ लाख रुपैयाँ सहयोग गरेको छ। यसैगरी वाग्मती प्रदेश सरकारले आगमघर पुनःनिर्माणका लागि ५० लाख रुपैयाँ सहयोग गरेको छ। बाँकी सहयोग स्थानीयवासी, भक्तजन एवं दाताबाट जुटाइएको अध्यक्ष शाक्यले बताए। विसं १९९० को भूकम्पले समेत आगमघर पूर्ण रुपमा क्षति भएको थियो। त्यसबेला हतारमा आगमघर पुनःनिर्माण गर्दा प्राचीन वास्तुकला लोप भएकामा यस वर्षको पुनःनिर्माणमा त्यसलाई पुनःस्थापित गरिएको समूहले जनाएको छ। दुई वर्षअघि स्थानीयवासीको सक्रियतामा समूह गठन गरी आगमघर पुनःनिर्माण शुरु भएको थियो। 

हाल आगमघर पुनःनिर्माणको ८० प्रतिशत काम सम्पन्न भएको छ। कोरोना महामारीका कारण पुनःनिर्माण केही ढिला भएको हो। आगामी माघमा गरिने श्री आर्यावलोकितेश्वर करुणामयको महास्नानअघि आगमघरको पुनःनिर्माण सम्पन्न गर्ने समूहको लक्ष्य छ। प्रत्येक वर्ष माघशुक्ल अष्टमीका दिन करुणामयको महास्नान गर्ने परम्परा छ। आगमघर पुनःनिर्माणका लागि द्रव्यमानसिंह तुलाधर र नवीन तुलाधरलगायत दाताको विशेष सहयोग रहेको समूहले जनाएको छ। उनीहरुको सहयोगमा मन्दिरमा सुनको मोलम्बा लगाउनेलगायत काम भइरहेको छ। भूकम्पले क्षति भएको करुणामयको मूल मन्दिर भने भारत सरकारको सहयोगमा प्रवलीकरण गर्न पाँच महिनाअघि राष्ट्रिय पुनःनिर्माण प्राधिकरण र भारत सरकारबीच सम्झौता भएको समूहका अध्यक्ष शाक्यले बताए। 
 
भारत सरकारबाट आउने सहयोगमा केन्द्रीय आयोजना कार्यान्वयन एकाई (भवन) ले मन्दिर प्रवलीकरणका लागि ठेक्का गरेको छ। डेढमहिनामा निर्माण व्यवसायी छनोटको प्रक्रिया पूरा गरी प्रवलीकरण शुरु गरिने एकाई (भवन) का आयोजना प्रमुख श्यामकिशोर सिंहले बताए। वर्षा र सहकालका देवताका रुपमा विशेष पूजिने सेतो मच्छेन्द्रनाथको जात्रा चैत्र शुक्ल अष्टमीदेखि चार दिनसम्म राजधानीको तीनधारा पाठशालाबाट असन, इन्द्रचोक हुँदै हनुमानढोका दरबारबाट लगन पुगी त्यही बाटो फर्काउने परम्परा छ।

प्रकाशित मिति: २०:४८ बजे, सोमबार, मंसिर २२, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्