Kathmandu Press

पप्पु कन्स्ट्रक्सनले ठेक्का पाएका सबै पुल अधुरै

काठमाडौं, वैशाख २६ : डिभिजन सडक कार्यालय, हेटौडाले पर्साको एकाटांगास्थित तिलावे पुल निर्माणका लागि २०६८ मा पप्पु कन्स्ट्रक्सनलाई ठेक्का दियो। साउन २७ ....

पप्पु कन्स्ट्रक्सनले ठेक्का पाएका सबै पुल अधुरै
काठमाडौं प्रेस

काठमाडौं, वैशाख २६ : डिभिजन सडक कार्यालय, हेटौडाले पर्साको एकाटांगास्थित तिलावे पुल निर्माणका लागि २०६८ मा पप्पु कन्स्ट्रक्सनलाई ठेक्का दियो। साउन २७ गते भएको सम्झौताअनुसार, दुई वर्षभित्रै सक्नु पर्थ्याे।

तर, त्यो पुल अझै बनेको छैन। २०७० साउन २७ गतेभित्र सक्नु पर्ने पुल सात वर्षमा पनि बनेको छैन। सडक विभागका अनुसार, ७३.८४ मिटर लामो तिलावे पुलको अहिलेसम्म ३० प्रतिशत काममात्रै भएको छ।

दुई करोड १४ लाख २६ हजारमा निर्माण सम्झौता भएको पुलका लागि अहिलेसम्म पप्पु कन्स्ट्रक्सनले ६५ लाख ४१ हजार रुपैयाँ लगिसकेको छ। अझै कहिले निर्माण सम्पन्न हुने हो, एकीन छैन। स्थानीय बासिन्दा भने अप्ठ्यारो झेलेरै वारपार गर्छन्।

Hardik ivf

डिभिजन सडक कार्यालयले सहजै भुक्तानी मात्रै दिएन, उसलाई थप पुलको ठेक्कासमेत दियो। २०७० मा पुल निर्माण गरि नसकेपनि डिभिजन सडक कार्यालय हेटौडाले भने पर्साकै बेदाहा नदीमाथि पुल निर्माण गर्ने अर्को ठेक्का दियो।

२०७२ साउन २८ मा भएको ठेक्का सम्झौताअनुसार, एक वर्षभित्र निर्माण गरिसक्नु पर्ने थियो। ७२.९५ मिटर लामो पुल अहिलेसम्म पनि निर्माण भएको छैन्। सडक विभागको तथ्यांकअनुसार, एक वर्षमा सक्नुपर्ने पुल तीन वर्षपछि पनि ५५ प्रतिशत मात्रै काम भएको छ।

यी मात्रै होइन, पप्पु कन्स्ट्रक्सनले पूर्वको सुनसरीदेखि पश्चिमको कञ्चनपुरसम्मका २८ वटा पुलको ठेक्का पाएको छ। अधिकांश पुलको समयावधि सकिएको छ। तर, कुनै पनि पुल सम्पन्न भएका छैनन्।

विभागका अनुसार, सबै योजना अधुरा नै छन्। कतिपय त कहिले बन्ने हुन भन्ने एकीन पनि छैन।

तैपनि पप्पु कन्स्ट्रक्सनलाई कारवाही हुन सकेको छैन। भौतिक योजना मन्त्रालय पनि उनलाई कारवाही गर्ने तयारीमा छैन। सात वर्षदेखि अपूरा योजनाको सम्झौता समेत रद्द गरेको छैन।

भौतिक योजना मन्त्रालयले यो विषयमा खासै वास्ता गरेको देखिएको छैन्। भाैतिक योजनामन्त्री रघुविर महासेठ पनि पप्पु कन्स्ट्रक्सनले काम गरिरहेको बताउँछन्। मन्त्री महासेठले काठमाडौं प्रेससँग भने, ‘उसले गर्ने काम गरि नै रहेको छ तैपनि हामीले सुपरभिजन गरिरहेका छौं।’

म्याद सकिएको योजनामा पनि सम्झौता अवधि थपिने गरिएको छ। अझै पनि केही योजनामा म्याद थप्न पप्पु कन्स्ट्रक्सनले प्रयास गरिरहेको छ। कम्पनीले काम गर्ने ग्यारेन्टी गर्न सकेपछि मात्रै म्याद थपिने बताउँदै मन्त्री महासेठले भने, ‘कतिपय ठाउँमा हामीले कुरा गरेका छौं। आवश्यक ठाउँमा कारबाही गछौं।’

पूर्वसचिव किशोर थापा कारबाही गर्ने र कारबाही भोग्ने व्यक्ति एउटै हुँदा समस्या आएको बताउँछन्। ‘पप्पुको मालिक ठेकेदार मात्रै नभइ ठूलो नेता पनि हो। उनलाई कसले कारबाही गर्ने? समस्या यहाँनेर छ,’ पूर्वसचिव थापाले भने, ‘कर्मचारीले एउटा ठेकेदार भनेर व्यवहार नगरी नेतालाई गर्ने व्यवहार गर्दा यो समस्या देखिएको हो।’

उनी पप्पुसँगै सरकारको पनि दोष रहेको बताउँछन्। ‘यो पप्पुको मात्रै कमजोरी होइन। पप्पुले जबरजस्ती गरेर काम लिएको होइन, कसैले काम दिएको हो,’ थापाले भने, ‘ठेक्का दिएर मात्रै हुँदैन, नियमित अनुगमन गर्ने, काम ढिलो हुनुका कारणहरु के हुन्, समस्या कहाँ छ, सम्झौता पालना गराउने दायित्व पनि पुरा गर्नुपर्छ।’

पप्पु कन्स्ट्रक्सनविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा पनि दायर गरेको छ। पप्पु कन्स्ट्रक्सनका पूर्वअध्यक्ष हरिनारायण रौनियारलाई मुद्दा लगाएपछि उनको सांसद पद निलम्बनमा छन्।

त्यस्तै, कम्पनीका अध्यक्ष सुमिन रौनियारविरुद्ध पनि अख्तियारले मुद्दा दायर गरेको थियो। अहिले मुद्दा विचाराधिन छ।

पप्पु कन्स्ट्रक्सन ठेक्का पाएका २८ पुल

१) लमहा खोला पुल चन्द्रनिगाहपुर–कोटियार ब्रम्हटोल (रंगपुर) रौतहट

२) चांदी नदी पुल चन्द्रनिगाहपुर गैंडाटार सडक रौतहट

३) तरहरी झाँझ नदी पुल पिपरिया रौतहट

४) दैजी–४ बैतडा घताल थान जाने सडकमा पक्की पुल

५) शिवगंगा नदी पुल, देवरिया(बेहेडाबाबा सडक, धनगढी पथरी (पूर्व)

६) नवरगींया पुल, त्रिभुवान गदस्वल पर्सौनी, पर्सा

७) तिलावे पुल, एकटांगा , पर्सा

८) वेदाहा पुल, मुसैली जाने बाटो, पर्सा

९) भेडाहा पुल विरगंज–१८, पर्सा

१०) औरही पुल, महेन्द्रनगर पेपरमिलदेखि शान्तिनगर जानेबाटोमा

११) बगमती नदी पुल, पिपरा, रौतहट

१२) दुधकोशी पुल, उदयपुर साउने थाप्लाङ र खोटाङको बीचमा

१३) दुधकोशी पुल,उदयपुरको चौदणडी रानीटार र भोजपुरको  मैनटार

१४) सुनकोशी नदी पुल, २ वटा, (रानीटार) साउने

१५) लालबकैया खोला पुल, तेजापकड जिंगडवा, रौतहट

१६) बागमती खोला पुल डिजाईन तथा निर्माण, कीर्तिपुर, सुन्दरीघाट

१७) त्रिशुली नदी पुल डिजाईन तथा निर्माण, बैरेनी कल्लेरी, स्यालटार, धादिङ्ग

१८) सुनी खेला पुल बेलगाछी २ र ७ बिच

१९) कमला नदी उत्रायणीघाटमा पुल सरहा

२०) वैरिया लालबकैया पुल, वरीया

२१) ववइ नदी पुल मठेउरा, दांग

२२) घाटगाउँ कर्णाली मोटरेवल पुल (कैलाली चिप्लेघाट बडीगाउँ जोड्ने पुल)

२३) सिंगिया खोला पुल

२४) त्रिशुली नदी पुल

२५) ओरइ ननी सडक पुल नेउलापुर र शिवपुर जोड्ने

२६) गिदेरी खोला पुल (सतपत्रे गाउँ ठोक्सिला, उदयपुर)

२७) वानडुङ्ग्री सैन पुल

२८) रङगुन खोला पुल

प्रकाशित मिति: १३:४७ बजे, बिहीबार, वैशाख २६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्