Kathmandu Press

पशुपति क्षेत्रको गुरुयोजना मिलाउन प्राविधिक समिति गठन

काठमाडौं, मंसिर २१ : पशुपति क्षेत्र विकास कोषले प्रस्ताव गरेको गुरुयोजनामा स्थानीय बासिन्दालगायत सरोकारवालाका सुझाव लिएर अन्तिम रुप दिन प्राविधिक समिति गठन गरिएको...
पशुपति क्षेत्रको गुरुयोजना मिलाउन प्राविधिक समिति गठन

काठमाडौं, मंसिर २१ : पशुपति क्षेत्र विकास कोषले प्रस्ताव गरेको गुरुयोजनामा स्थानीय बासिन्दालगायत सरोकारवालाका सुझाव लिएर अन्तिम रुप दिन प्राविधिक समिति गठन गरिएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले अर्थविद् डा. चन्द्रमणि अधिकारीको संयोजकत्वमा सात सदस्यीय प्राविधिक समिति गठन गरेको हो। प्राविधिक समितिमा पुरातत्व विभागका महानिर्देशक दामोदर गौतम सहसंयोजक रहेका छन्।

त्यस्तै, समितिका सदस्यमा वरिष्ठ संरचनाविद् प्रा.डा. प्रेमनाथ मास्के, वरिष्ठ वास्तुकलाविद् प्रा.डा. सुदर्शनराज तिवारी, वरिष्ठ पुरातत्वविद् भीमप्रसाद नेपाल, सांस्कृतिक सम्पदा संरक्षणविद् काइवाइजे रहेका छन्। समितिको सदस्यसचिव भने कोषका सदस्यसचिव डा प्रदीप ढकाललाई तोकिएको मन्त्रालयले जनाएको छ।

समितिको पहिलो बैठक बसी कार्यादेशअनुसार काम शुरु गरिएको कोषका सदस्यसचिव डा. ढकालले बताए। सरोकार भएका निकाय र स्थानीयवासीसँग समेत अन्तरक्रिया गरी गुरुयोजनालाई अन्तिम रूप दिइने उनको भनाइ छ।

यसअघि गुरुयोजनाका नाममा पशुपति क्षेत्रको प्राचीन बस्ती उठाउन खोजिएको भन्दै स्थानीय बासिन्दा संयुक्त सङ्घर्ष समिति गठन गरी आन्दोलनमा उत्रिएका थिए। (रासस)

प्रकाशित मिति: १६:२१ बजे, आइतबार, मंसिर २१, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्