बिजुलीबजारमा ‘आर्क ब्रिज’ तयार, पप्पुले बनाउने वाग्मतीकाे अन्योलमै
काठमाडौं, वैशाख २६ : वाग्मती र धोबीखोलामा ‘आर्क ब्रिज’ निर्माण गरिँदै छन्। धोबीखोला धमाधम काम भइरहेको छन भने पप्पु कन्स्ट्रक्सनले जिम्मा ल....
काठमाडौं, वैशाख २६ : वाग्मती र धोबीखोलामा ‘आर्क ब्रिज’ निर्माण गरिँदै छन्। धोबीखोला धमाधम काम भइरहेको छन भने पप्पु कन्स्ट्रक्सनले जिम्मा लिएको वाग्मतीमा भने अन्यौल भएको छ। ठेक्दा सम्झौताको म्याद सकिएपनि पप्पुले कहिले निर्माण गर्ने हो एकीन छैन्।
वाग्मती र धोबीखोलाका चारमध्ये बिजुली जारस्थित धोबीखोलको पुल अन्तिम चरणमा पुगेको हो। ‘गाडी चल्न थालेका छन्, रंगरोगन गर्न मात्रै बाँकी छ,’ काठमाडौं सडक विस्तार आयोजना प्रमुख विश्वविजयलाल श्रेष्ठले भने।
बिजुली बजारमा दुइटा पुल बन्न लागेको हुन्। सडकको एकातिरको पुल अन्तिम चरणमा पुगेको हो भने अर्को पनि ७० प्रतिशत काम पूरा भएको श्रेष्ठले बताए। यो पुल पनि हिउँदसम्म सम्पन्न हुने उनको भनाइ छ।
त्यस्तै, वाग्मती नदीमाथि तीनकुनेमा बन्ने ‘आर्क ब्रिज’ भने अन्योलमै छन्। ति पुल बनाउने जिम्मा पप्पु कन्स्ट्रक्सनलाई दिइएको छ। त्यहाँका पुलले गति लिन नसकेको आयोजनाले जनाएको छ। ‘वाग्मतीमा बनिरहेको पुलको काममा भने अत्यन्तै ढिलाइ भएको छ। कहिले सम्पन्न हुन्छन्, यसै भन्न सकिने स्थिति छैन,’ आयोजना प्रमुख श्रेष्ठले भने।
राजधानीका साँघुरा पुललाई फराकिला तथा सडकलाई आकर्षक बनाउने योजनासहित सरकारले २०७१ पुषमा ‘आर्क ब्रिज’को काम अघि बढाएको थियो।
जसका लागि धोबीखोलाका पुल बनाउन टेक्सासको जेई कन्स्ट्रक्सनलाई जिम्मा दिएको थियो। यो १३ करोड १३ लाखमा बन्न लागेको हो। यसको लम्बाइ ५० मिटर र चौडाइ १२ मिटर हुने छ। यसमा निर्माण कम्पनीले ७० प्रतिशत भुक्तानी पाइसकेको छ।
यो पुल पनि २०७४ पुस १३ गतेभित्र सम्पन्न गर्ने ठेक्का सम्झौता थियो। तर, निर्माण ढिलाइ भयो। यसको निर्माण अवधि थप गरिएको छ।
त्यस्तै, वाग्मतीको पुलका लागि पप्पु कन्स्ट्रक्सनसँग २१ करोड ३३ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको थियो। यो पुलको लम्बाइ ८५ मिटर र चौडाइ १२ मिटर रहेको छ।
निर्माण सम्पन्न गर्नु पर्ने अवधि गत असोजसम्म रहेको थियो। ठेक्का सम्झौता सकिएको वर्ष दिन पुग्न लाग्दा पनि वाग्मतीका पुल भन्ने बन्ने छाँटखाट देखिदैन्। यसमा निर्माण कम्पनीले ३० प्रतिशत भुक्तानी लगिसकेको छ।
आर्क ब्रिज निर्माणपछि ट्राफिक जामको समस्या केही हदसम्म घट्ने आयोजनाले जनाएको छ। आधुनिक प्रविधिको प्रयोगमार्फत् निर्माण गरिने आर्क ब्रिज पिलर राखेर निर्माण गरिने पुलभन्दा बलियो र जिलो मानिन्छ। ‘जापान, अमेरिका, अस्ट्रेलियालगायतका देशमा निक्कै रुचाइएको आर्क ब्रिज निर्माणको प्रविधिलाई नेपालमा पहिलोपटक भित्र्याइएको हो,’ आयोजना प्रमुख श्रेष्ठले भने, ‘आर्क ब्रिजले अत्याधुनिक सुविधासँगै शहरको सौन्दर्यतामा पनि महत्वपूर्ण भूमिका खेल्ने छ।’
आर्क नेटवर्क ब्रिजको माथिल्लो तहमा अर्धवृत्ताकार संरचना निर्माण गरिनेछ। बलिया तार जडानसँगै बीचमा गार्डर (दलिन) पनि राखिन्छ। नेटवर्क तारले पुलको भारवहन क्षमता तल र माथि गरेर सन्तुलन ल्याउछ।
कसरी बनाइन्छ ‘आर्क ब्रिज’?
‘नेटवर्क आर्क ब्रिज’ अहिले नेपालमा बनिरहेका पुलहरु भन्दा फरक प्रवधिको हुन्छ। यो आर्कमा नै आधारित हुने भएकाले देख्दा पनि निकै आकर्षक हुन्छ। यसलाई निर्माण गर्दा सुरुमा खोलाखोल्साको वारीपारी सडकको चौडाइ बराबरकै ‘अब्युटमेन्ट’ अर्थात बलियो जगसहितको संचरना निर्माण गरिन्छ।
‘आर्क ब्रिज’मा अहिले नेपालमा बनिरहेका पुलमा जस्तो बीचमा पिल्लर प्रयोग गरिँदैन। पिल्लर नहालेपनि ‘अब्युटमेन्ट’को आधारमा पुलको वारपार आर्क फिक्सीङ गरिन्छ र, माथिल्लो भागमा बांगो आकारका आर्क राखिन्छ।
आर्कलाई ‘अब्युटमेन्ट’मा जोडिन्छ । आर्कमार्फत नै पुलको भारलाई बोक्ने संरचना फिक्स गरिन्छ। पुलमा गाडी गुड्दा त्यसको भार आर्क हुँदै ‘अब्युटमेन्ट’मा पर्छ। पुलको सम्पूर्ण भारलाई आर्कले नै थेग्छ।