विकासका काममा अवरोध भए तत्काल मलाई भन्नुस् : सिँचाइमन्त्री पुन
काठमाडौं, मंसिर १९ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले विकासका काममा अवरोध भए समयमै आफूलाई खबर गर्न आग्रह गरेका छन्। मन्त्रालयको चालु आर्थिक वर्षको...
काठमाडौं, मंसिर १९ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले विकासका काममा अवरोध भए समयमै आफूलाई खबर गर्न आग्रह गरेका छन्।
मन्त्रालयको चालु आर्थिक वर्षको प्रथम चौमासिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा उनले भने, “कसैले विकासका काममा अवरोध सिर्जना गरेको अवस्थामा मलाई भन्नुृस्। कोसँग कुरा गरेर समस्या समाधान गर्नुपर्ने हो म आफैँ गएर समाधान गर्छु।”
मन्त्री पुनले विकास आयोजनाको काममा स्थानीय जनप्रतिनिधि, राजनीतिक दल र प्रभावित जनताका कुरा अधिकमत सुन्ने र समस्या सम्बोधन गर्नुपर्नेमा जोड दिए। वर्तमान सरकार विगतको जस्तो सङ्क्रमणकालीन नभएकाले विकासका काममा कुनै अप्ठेरो महसुस गर्नुपर्ने अवस्था नरहेको उनको भनाइ थियो।
“यो विगतको जस्तो सङ्क्रमणकालीन सरकार होइन, तीन वर्षदेखि प्रधानमन्त्री, अधिकांश मन्त्री र सचिवहरु हामी एउटै छौँ”, उनले भने,“विगतका समस्या तेस्र्याएर भाग्ने कोसिस गर्ने छुट कसैलाई छैन।”
मन्त्री पुनले विकास निर्माणका काम गर्दा भरसक स्थानीय र प्रभावितलाई लाभ हुने मिल्ने गरी काम गर्न निर्देशन दिए। मुआब्जा वितरण अगावै ठेक्काको सूचना निकाल्ने, शिलान्यास गरिहाल्ने र कोठाभित्रै बसेर आयोजना बनाउने काम अब बन्द हुनुपर्ने उनको भनाइ थियो।
“विगतमा ईआईए नगरी, जमिनको मुआब्जा टुङ्गो नलगाइ ठेक्का दिने, शिलान्यास गरिहाल्ने र कोठामा बसेर योजना बनाउने गर्दा धेरै आयोजना अघि बढ्न सकेनन्”, मन्त्री पुनले भने, “तपाईं कर्मचारीको जागिर छ, बाबुबाजेको खेतबारी गए पनि मतलब हुँदैन, तर, २-४ गरा खेत भएका किसानको भएको जमिन सबै विकास आयोजनाले खाँदा ऊ भोकै पर्ने अवस्था हुन्छ, अनि ढुङ्गा हान्न आउँछ, त्यसैले जमिन गए पनि विकास आयोजनाको लाभ किसानले पाउने अवस्थामा कसैको अवरोध हुँदैन।”











