Kathmandu Press

साउनयता पुनर्निर्माण भए ४६ हजार निजी आवास

साउनयता पुनर्निर्माण भए ४६ हजार निजी आवास

काठमाडौं, मंसिर १९ : आर्थिक वर्ष २०७७-७८ को पहिलो चार महिनामा ४६ हजार २७० निजी घरहरु पुनर्निर्माण भएका छन्। त्यसैगरी २७ वटा विद्यालय भवन र १२ वटा पुरातात्विक सम्पदाहरुको पुनर्निर्माण सकिएको छ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको चालु आर्थिक वर्षको पहिलो चौमासिक (साउन–कात्तिक) को समीक्षा गर्दै लक्ष्यमा राखिएका बाँकी कामहरुलाई तोकिएको समयभित्र सम्पन्न गर्ने गरी काम गर्ने प्रतिबद्धता पनि व्यक्त भएको छ।

चार महिनाको अवधिमा ६ हजार ६ सय पुनर्निर्माण लाभग्राहीले दोस्रो किस्ता लिएका छन् भने ५ हजार ११४ ले तेस्रो किस्ता लिएका छन्। यसै अवधिमा थप ६८५ प्रवलीकरण लाभग्राहीले सम्झौता गरेका छन् जसमध्ये ४५० ले पहिलो किस्ता बराबर ५० हजार रुपैयाँ बुझेका छन्।

यो अवधिमा ११० जना लाभग्राही थपिएका छन् र पहिले नै लाभग्राही कायम भएका समेत गरी १ हजार ३५० ले अनुदानका लागि सम्झौता गरेका छन्। यो अवधिमा पुनर्निर्माण सम्पन्न भएको रानीपोखरीको उद्घाटन भएको छ भने धरहरा पुनर्निर्माणमा निरन्तर काम भई १९ तलासम्मको ढलान कार्य सम्पन्न भएको छ। यो अवधिमा समग्र पुनर्निर्माणमा ७ अर्ब ८४ करोड ७२ लाख रुपैयाँ खर्च भएको छ।
 

प्रकाशित मिति: २३:५२ बजे, शुक्रबार, मंसिर १९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्