Kathmandu Press

सामाजिक सुरक्षा कोषका योगदानकर्ताले घर निर्माण गर्न ७५ लाख सापटी पाउने

काठमाडौं, मंसिर १९ : सामाजिक सुरक्षा कोषमा नियमित योगदान गर्दै आएका योगदानकर्ताले आफ्नो वित्तीय आवश्यकता पूरा गर्न विभिन्न शीर्षकमा कर्जा प्राप्त गर्ने भएका...
सामाजिक सुरक्षा कोषका योगदानकर्ताले घर निर्माण गर्न ७५ लाख सापटी पाउने

काठमाडौं, मंसिर १९ : सामाजिक सुरक्षा कोषमा नियमित योगदान गर्दै आएका योगदानकर्ताले आफ्नो वित्तीय आवश्यकता पूरा गर्न विभिन्न शीर्षकमा कर्जा प्राप्त गर्ने भएका छन्। सरकारले कोषमा जम्मा भएको रकम लगानी गर्नेसम्बन्धी ‘सामाजिक सुरक्षा कोष लगानी कार्यविधि, २०७७’ स्वीकृत गरेसँगै श्रमिकले कोषमा योगदान गरेको रकमका आधारमा सापटी पाउने बाटो पनि खुल्ला भएको छ। यही मङ्सिर १० गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त कार्यविधि स्वीकृत गरेको थियो।

योगदानकर्ता सापटीअन्तर्गत योगदान रकमको आधारमा योगदानकर्ता विशेष सापटी, आवास निर्माणका निम्ति योगदानकर्ता घर सापटी, मानव पूँजी निर्माणमा सहयोग पुर्‍याउने हेतुले योगदानकर्ता शैक्षिक सापटी तथा श्रमिकको भैपरी आउने कार्यलाई सुविधा प्रदान गर्न योगदानकर्ता सामाजिक कार्य सापटी योगदानकर्ताले प्राप्त गर्नसक्ने कोषले जनाएको छ। परियोजना कर्जाअन्तर्गत जमानत कर्जा, संस्थागत कर्जा तथा सहवित्तीयकरण कर्जा प्राप्त गर्नेछन्। त्यसैगरी लगानीका अन्य क्षेत्रमा सरकारी ऋण पत्रमा लगानी, मुद्दती निक्षेपमा लगानी, शेयरमा लगानी, डिवेन्चरमा लगानी, म्युचुअल फण्डमा लगानी तथा स्थिर सम्पत्तिमा लगानी गर्ने कोषका प्रवक्ता विवेक पन्थीले जानकारी दिए। 

योगदानकर्ता सापटीअन्तर्गत योगदान रकमको आधारमा धितो राखेर योगदानकर्ताले घर निर्माण गर्न, घर खरिद गर्न, संयुक्त आवासमा युनिट खरिद गर्न वा आफ्नो स्वामित्वमा रहेको घरमा तला थप्न तथा मर्मत गर्न ७५ लाख रुपैयाँ वा १५ वर्षको तलब रकम जुन कम हुन्छ सोही बराबर घर सापटी प्राप्त गर्ने सक्नेछन्। यस्तै योगदानकर्ता आफैँ वा निजको पति वा पत्नी, छोरा, छोरीको लागि स्वदेश वा विदेशमा उच्च शिक्षा अध्ययनको लागि शैक्षिक सापटी ३५ लाख रुपैयाँसम्म प्राप्त गर्न सक्ने प्रवक्ता पन्थीले बताए। 

योगदानकर्ताले भैपरी आउने सामाजिक कार्यको लागि पाँच लाखसम्मको सामाजिक कार्य सापटी कोषबाट प्राप्त गर्न सक्नेछन्। तर सामाजिक कार्य सापटी अन्य कोषबाट स्वाप गर्ने प्रयोजनको लागि मात्र लागू हुने कोषले जनाएको छ। योगदानकर्ता विशेष सापटीबाहेक अन्य सबै सापटीको कूल योग एक करोड वा १५ वर्षको तलब बराबरको रकममध्ये कम हुने रकम सीमाभित्र रही धितोले खामेसम्म र कर्जा भुक्तानीको आधारमा पर्याप्त भएको हुनुपर्नेछ। सापटीका निम्ति कोषमा कम्तीमा तीन वर्षसम्म लगातार योगदान गरेको हुनुपर्ने छ। कोषमा संकलित रकमलाई लगानी विविधीकरणको माध्यमबाट विभिन्न क्षेत्रमा लगानी गर्दै योगदानकर्ताको हितमा परिचालन गराई उच्च, दिगो तथा सुनिश्चित प्रतिफल हासिल गर्ने दिशामा अगाडि बढ्न मार्गप्रशस्त हुने कोषले जनाएको छ।

प्रकाशित मिति: २३:०१ बजे, शुक्रबार, मंसिर १९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्