कोभिड खोप अत्यधिक मुनाफा कमाउने माध्यम बन्नु हुँदैन : प्रधानमन्त्री ओली
काठमाडौं, मंसिर १९ : प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पूर्ण मानवजगत् संकटमा रहेका अवस्थामा जीवनरक्षक खोप अत्यधिक मुनाफा कमाउने माध्यम बन्न नहुने बताएका छन्।कोभिड–१९...
काठमाडौं, मंसिर १९ : प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पूर्ण मानवजगत् संकटमा रहेका अवस्थामा जीवनरक्षक खोप अत्यधिक मुनाफा कमाउने माध्यम बन्न नहुने बताएका छन्।
कोभिड–१९ महामारीसम्बन्धी ३१ औँ विशेष संयुक्त राष्ट्रसंघीय महाअधिवेशनलाई पूर्वअभिलेखित ‘भिडियो’मार्फत शुक्रबार सम्बोधन गर्दै उनले खोपहरू विश्वव्यापी सार्वजनिक वस्तुका रुपमा सबै राष्ट्र तथा मानिसका लागि सर्वसुलभ र पहुँचयोग्य हुनुपर्नेमा जोड दिएका हुन्।
उनले कोभिड–१९विरुद्धको खोपसम्बन्धी सुखद् समाचारबाट प्रोत्साहित भए पनि सबैका लागि खोपको उपलब्धताको विषय ठूलो अनिश्चितताका रुपमा देखापरेको तथा धनी र गरीब सबैका लागि खोपको पहुँच सुनिश्चित गर्नमा ‘कोभाक्स’ले गरेको प्रयासको सराहना गरे। उनले भने, “खोपको विश्वव्यापी पहुँच सुनिश्चित नभएसम्म संसार महामारीबाट सुरक्षित हुने छैन। ”
१३ लाखभन्दा बढीले ज्यान गुमाइसकेका तथा प्रायः सबै समाज, अर्थतन्त्र र मुलुक गम्भीररुपमा प्रभावित भइरहेका सन्दर्भमा महामारीको त्रासदी अकथनीय रहेको बताउँदै उनले विद्यमान महामारी एक स्वास्थ्य संकट मात्र नभएर राष्ट्रबीच आपसीरुपमा तथा आन्तरिकरुपमा चुलिँदै गएको असमानता एवं मानिसको जीवन र प्रकृतिबीचको बढ्दो असमाञ्जस्यताविरुद्ध जागरुक हुन बजेको घण्टी भएको बताए।











