Kathmandu Press

चितवन कैदी फरार प्रकरण : दुई प्रहरी निलम्बित

भरतपुर, मंसिर १८ : जिल्ला कारागार भरतपुरबाट कैदी फरार भएका घटनामा दुई  प्रहरीलाई निलम्बन गरिएको छ। कारागार सुरक्षामा खटिएका ती प्रहरीलाई असावधानी अपनाएको...
चितवन कैदी फरार प्रकरण : दुई प्रहरी निलम्बित

भरतपुर, मंसिर १८ : जिल्ला कारागार भरतपुरबाट कैदी फरार भएका घटनामा दुई  प्रहरीलाई निलम्बन गरिएको छ। कारागार सुरक्षामा खटिएका ती प्रहरीलाई असावधानी अपनाएको भनी निलम्बन गरिएको हो।

निलम्बित हुनेमा प्रहरी जवानद्वय अञ्जन कार्की र सुरेश लामा छन्। उनीहरुलाई गत आइतबार नै निलम्बन गरिएको भए पनि प्रहरीले बिहीबार सार्वजनिक गरेको हो। 

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नान्तीराज गुरूङका अनुसार तत्कालीन समयमा कार्यक्षेत्रमा रहेका उनीहरुलाई निलम्बन गरिएको हो।  मंसिर ११ गते साँझ साढे पाँच बजे सुरक्षाकर्मीले काम परिवर्तन गर्ने समयमा जबर्जस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका कालिका नगरपालिका घर भएका ४५ वर्षीय रेशमलाल श्रेष्ठ १५ फिट अग्लो पर्खाल नाघेर भागेका थिए।

फरार श्रेष्ठको खोजी जारी छ। उक्त घटनालगत्तै जिल्ला प्रशासन कार्यालयले छानबिन समिति गठन गरेको थियो। समितिका संयोजक सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माको समितिले प्रतिवेदन पेश गरेसँगै उनीहरुलाई निलम्बन गरी कारवाही प्रक्रिया अगाडि बढाइएको हो। 

कारागार प्रशासन, सुरक्षा प्रशासन र  आन्तरिक सुरक्षा व्यवस्थापनमा कमजोरी देखिएकाले विभागीय कारवाहीका लागि प्रतिवदेनमा सिफारिस गरिएको छ। भरतपुर कारागारबाट अहिलेसम्म सात कैदी फरार भएका छन्। कारागारभित्रैबाट भाग्ने श्रेष्ठ मात्रै हुन्।

बाँकी ६ जना अदालत लैजाने र अस्पतालमा उपचारका क्रममा भागेको कारागार कार्यालय भरतपुरका प्रमुख कमलप्रसाद काफ्लेले जानकारी दिए।  दुई सय ८० जनाको क्षमता भएको कारागारमा हाल ६९७ कैदीबन्दी राखिएका छन्। रासस

प्रकाशित मिति: २१:०८ बजे, बिहीबार, मंसिर १८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्