Kathmandu Press

एचआइभी नियन्त्रणमा महत्वपूर्ण उपलब्धि : स्वास्थ्यमन्त्री ढकाल

काठमाडौं, मंसिर १६ : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले एचआइभी सङ्क्रमण नियन्त्रणमा नेपालले महत्वपूर्ण उपलब्धि हासिल गरेको बताएका छन्। तेतीसौँ विश्व एड्स दिवसको अवसरमा...
एचआइभी नियन्त्रणमा महत्वपूर्ण उपलब्धि : स्वास्थ्यमन्त्री ढकाल

काठमाडौं, मंसिर १६ : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले एचआइभी सङ्क्रमण नियन्त्रणमा नेपालले महत्वपूर्ण उपलब्धि हासिल गरेको बताएका छन्। 

तेतीसौँ विश्व एड्स दिवसको अवसरमा मंगलबार शुभकामना सन्देश दिँदै उनले कोभिड–१९ भएजस्तै सन् १९९० को दशकमा महामारीको रुपमा देखिएको एचआइभी सङ्क्रमण नियन्त्रणमा नेपालले महत्वपूर्ण उपलब्धि हासिल गरेको बताएका हुन्। 

उनका अनुसार नेपालले नयाँ सङ्क्रमण दर सन् २०१० देखि २०१९ सम्म ६४ प्रतिशतले घटाएको छ। सोही समयमा विश्वमा यसको दर २३ प्रतिशतले घटेको छ। यस्तै नेपालमा एड्सको कारणले हुने मृत्युदर पनि ८५ प्रतिशत र विश्वमा ३९ प्रतिशतले घटेको छ। उनले कोभिड–१९ ले एचआइभी सङ्क्रमित र एचआइभी सर्न सक्ने जोखिममा रहेका समूहलाई स्वास्थ्य सेवा पहुँचमा अझ अप्ठ्यारो र चुनौतीसमेत भएको बताए।  

सरकार विभिन्न साझेदार संस्था र नागरिक समाज सबैको सक्रियतामा कोभिड–१९ को विषम परिस्थितिमा पनि एचआइभी सङ्क्रमितलाई एआरभी औाषधि उचित र निरन्तर वितरण गरिएको बताए।

सन्देशमा उनले सरकारको राष्ट्रिय एचआइभी रणनीतिक योजना २०१६–२०२१ अनुसार ९० प्रतिशत एचआइभी सङ्क्रमितले आफ्नो सङ्क्रमण अवस्थाबारे थाहा पाउने, तीमध्ये ९० प्रतिशतमा औषधि उपचारको पहुँच हुने र औषधि खानेमध्ये ९० प्रतिशतको शरीरमा भाइरसको भार न्यून भएको हुने लक्ष्य प्राप्तिका लागि एचआइभी रोकथाम, हेरचाह, सहयोग तथा उपचारसम्बन्धी कार्यक्रमलाई तीव्रता दिइएको बताएका छन्। 

दिगो विकास लक्ष्यअनुसार सन् २०३० सम्ममा एड्सको महामारी अन्त्य गर्ने प्रतिबद्धताका साथ योजनाबद्ध रुपमा काम भइरहेकोसमेत उनले जानकारी दिए। सरकारले सङ्क्रमितलगायत उनीहरुको परिवारका सदस्यलाई निःशुल्क स्वास्थ्य बीमा कार्यक्रमसमेत लागू गरेको छ । 
 

प्रकाशित मिति: ००:२९ बजे, बुधबार, मंसिर १७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्