राजसंस्था र हिन्दू राष्ट्रप्रतिको जनलहरलाई तार्किक निष्कर्षमा पुर्याउनुपर्छ : राणा
काठमाडौं, मंसिर १४ : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शम्शेर राणाले आम जनता र युवा पिढीको राजसंस्था र हिन्दू राष्ट्रप्रतिको चाहनालाई तार्किक निष्कर्षमा...
काठमाडौं, मंसिर १४ : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शम्शेर राणाले आम जनता र युवा पिढीको राजसंस्था र हिन्दू राष्ट्रप्रतिको चाहनालाई तार्किक निष्कर्षमा पु¥याउन आवश्यक भएको बताएका छन्।
अध्यक्ष राणाले राजसंस्था र हिन्दू राष्ट्रको जोडदार माग गर्ने जनताको आवाज सकारात्मक र सह्रानीय रहेको बताएका छन्। ‘सम्वर्द्धनवादमा अभ्यस्त, जनतामाझको राजनीतिक दल भएबाट राप्रपाले यही जनभावनाको समर्थन र पैरवी गर्दै आएको हो,’ राणाले आइतबार सामाजिक सञ्जालमार्फत एक सन्देश जारी गर्दै भनेका छन्, ‘राष्ट्रहितलाई केन्द्रमा राखेर, राजसंस्था र हिन्दू राष्ट्रप्रतिको जनलहरलाई तार्किक निष्कर्षमा पु¥याउनु हामी सबैको कर्तव्य बनेको छ।’
उनले सडकमा आएका जनताको प्रशांसा पनि गरेका छन्। ‘यसबीच पद्धतिमाथिकै बहस देशव्यापी बन्नु आश्चर्य भएन। देशका कुनाकुना जनता जागेका छन्। वाक्कदिक्क छन्, विकल्पको खोजीमा छन्। नेपाली जनता, युवा पिढी सडकमा आएका छन्,’ सन्देशमा भनिएको छ, ‘नेपाल र नेपाली बचाउन राजसंस्था र हिन्दु राष्ट्रको जोडदार माग गर्दैछन्, जो सकारात्मक छ, सह्रानीय छ, प्रजातन्त्र अनुकूल छ।’
परिवर्तन जनचाहना विपरीत गएको भन्दै राणाले सरकार, सत्तारुढ दल र राष्ट्रपतिको भूमिकासमेत आलोचना गरेका छन्। ‘समावेशीता, समृद्धि, पहिचान, स्थायित्वको नारा थियो, तर देश दिनदिनै ओरालो लाग्दो छ। भ्रष्टाचारी देश भनेर सरकारले नयाँ कीर्तिमान राखेको छ। गुटगत, दलगत पक्षधरताले राष्ट्रपतिको गरिमा, निष्पक्षता प्रश्नचिन्हमा छ। सत्तारुढ नेकपा कुर्सी र वैठकको झगडामा लिप्त छ,’ उनले भनेका छन्।
त्यस्तै, कुर्सीको अन्तहिन झगडामा लागेर सत्तारुढ नेकपाले कोभिड महामारीप्रतिको जिम्मेवारी चटक्कै भूलेको राणाको आरोप छ। ‘केपी–पीकेको अन्तहीन आरोप–प्रत्यारोप जनमत, जनहित विपरीत छ। सरकारकै जोडबलमा कोभिड महामारी कुन चरीको नाम हो भन्ने सन्देश प्रवाह गरिएको छ। अब त बेसार र अदुवाको बसिबियाँलो पनि सुन्न छाडियो। दुइतिहाईको शासन भगवान भरोसामा छ, पूर्ण असफल छ,’ राप्रपा अध्यक्ष राणाले भने।











