स्कुटर र मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु
विराटनगर, मंसिर १४ : मोरङको सुन्दरहरैँचा र उर्लाबारीमा गएराति स्कुटर र मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।सुन्दरहरैँचा नगरपालिका–९ चाँदनी पेट्रोलपम्प अगाडि...
विराटनगर, मंसिर १४ : मोरङको सुन्दरहरैँचा र उर्लाबारीमा गएराति स्कुटर र मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
सुन्दरहरैँचा नगरपालिका–९ चाँदनी पेट्रोलपम्प अगाडि स्कुटर र ट्याक्टर ठोक्किँदा एक जनाको मृत्यु भएको छ। पूर्व–पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको को ३८ प १६६५ नम्बरको स्कुटर र विपरित दिशातर्फ जाँदै गरेको को २ त ३१९६ नम्बरको ट्याक्टर एकआपसमा ठोक्किँएका हुन्।
दुर्घटनामा स्कुटर चालक सुन्दरहरैँचा–९ का ४२ वर्षीय मकेश्वर चौधरीको मृत्यु भएको छ। दुर्घटनामा परेर गम्भीर घाइते भएका चौधरीको उपचारका क्रममा विराटनगरको न्युरो अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।
यस्तै, उर्लाबारी नगरपालिका–८ स्थित इटहरा–उर्लाबारी सडक खण्डमा मे ४ प ९२८५ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा मोटरसाइकलमा सवार ३५ वर्षीय युवकको मृत्यु भएको छ। उनको सनाखत हुन सकेको छैन।
मोटरसाइकल चालक उर्लाबारी–८ का ३० वर्षीय उपेन्द्र दनुवार गम्भीर घाइते भएका छन्। उनको उर्लाबारीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।











