भोलिदेखि देशभरको मौसम सफा हुने, तर चिसो बढ्ने
काठमाडौं, मंसिर १२ : पश्चिमी वायुको प्रभावले केही दिनयता प्रभावित मौसम शनिबारदेखि सुधार हुँदै जाने भएको छ।आज रातिदेखि पश्चिमी वायुको प्रभाव क्रमशः हटेर...
काठमाडौं, मंसिर १२ : पश्चिमी वायुको प्रभावले केही दिनयता प्रभावित मौसम शनिबारदेखि सुधार हुँदै जाने भएको छ।
आज रातिदेखि पश्चिमी वायुको प्रभाव क्रमशः हटेर जाने भएकाले शनिबारदेखि देशभर मौसम सफा हुने मौसम तथा जल विज्ञान विभागले जनाएको छ। पश्चिमी वायुको प्रभाव पश्चिम भूभागबाट बाहिरिने क्रम सुरु भइसकेकाले वर्षा हुने सम्भावना कमै रहेको मौसमविद् प्रतिभा मानन्धरले बताइन्।
मौसम सफा भएसँगै तापक्रम पनि निरन्तर घट्ने क्रम सुरु हुने जनाएको छ। आकाशमा बादल नभएर खुला हुनु, उत्तर पश्चिमी वायु बहनुजस्ता कारणले चिसो बढ्ने बताइएको छ।
अहिले प्रदेश १ र २, बागमती र गण्डकीका अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रहने जनाएको छ। प्रदेश १ र २, बागमती र गण्डकीमा आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रही बाँकी भूभागमा मौसम सामान्यतया सफा हुने विभागले जनाएको छ।
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ८ दशमलव ५ डिग्री र अधिकतम तापक्रम २२ दशमलव ६ डिग्री सेल्सियस छ।
त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस शून्य दशमलव ५ डिग्री र सबैभन्दा धेरै जनकपुरको न्यूनतम तापक्रम १५ दशमलव २ डिग्री सेल्सियस छ।











