सुदूरपश्चिममा भेटिए क्षयरोगका चार सय ३१ नयाँ बिरामी
धनगढी, मंसिर १२ : सुदूरपश्चिम प्रदेशका पाँच जिल्लामा एक वर्षको अवधिमै चार सय ३१ नयाँ क्षयरोगका बिरामी फेला परेका छन्।आर्थिक वर्ष २०७६/७७ मा...
धनगढी, मंसिर १२ : सुदूरपश्चिम प्रदेशका पाँच जिल्लामा एक वर्षको अवधिमै चार सय ३१ नयाँ क्षयरोगका बिरामी फेला परेका छन्।
आर्थिक वर्ष २०७६/७७ मा कैलाली, कञ्चनपुर, डडेल्धुरा, डोटी र अछाममा गरिएको सम्पर्क परीक्षणबाट नयाँ क्षयरोगका बिरामी फेला परेका हुन्। क्षयरोगको संक्रमण भएका एक हजार पाँच सय परिवारको सम्पर्कमा रहेका व्यक्तिको खकार जाँच गर्दा नयाँ क्षयरोगी पत्ता लागेको स्वास्थ्य निर्देशनालय राजपुरका किटजन्य अधिकृत हेमराज जोशीले बताए। उनका अनुसार यो अवधिमा तीन सय व्यक्तिको खकारको नमूना सङ्कलन गरिएको थियो।
स्वास्थ्य निर्देशनालयका निर्देशक डा. गुणराज अवस्थीले क्षयरोगका नयाँ बिरामी पत्ता लगाउन ग्लोबल फन्डको रकम सहप्रापक संस्थाले गरेको काम सराहनीय रहेको बताए। “सुदूरपश्चिम क्षेत्रमा एक वर्षको अवधिमै ४३१ नयाँ बिरामी पत्ता लाग्नु प्रभावकारी कार्य हो, उनले भने, 'यसले लुकेर बसेका क्षयरोगी स्वास्थ्य संस्थाको सम्पर्कमा आएका छन्। क्षयरोगको उपचार सेवा लिन सकेका छन्। यसले समयमै उपचार प्राप्त गरी निको हुन्छन्। अन्य क्षेत्रमा क्षयरोगको संक्रमणसमेत हुन पाउँदैन।'
आगामी दिनमा समेत लुकेर बसेका क्षयरोगीको खोजी गरी स्वास्थ्य संस्थाको सम्पर्कमा ल्याउने कामलाई निरन्तररूपमा अगाडि बढाउनुपर्ने उनको भनाइ छ। लुकेर बसेका क्षयरोगी पत्ता लागेका कारणले बिरामी चाँडै निको हुने, बिरामीको स्वास्थ्य अवस्था खराब हुनबाट बच्न सकिने, अकालमा हुने मृत्युबाट जोगाउन सकिने र सबभन्दा सबल पक्षका रूपमा अन्य व्यक्तिलाई रोग सर्नबाट बचाउन सकिने उनको भनाइ छ। (रासस)











