Kathmandu Press

कसैको निहित स्वार्थका लागि सरकारको नेतृत्व परिवर्तन हुँदैन : सञ्चारमन्त्री गुरुङ

काठमाडौं, मंसिर ११ :  सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सरकारको नेतृत्व परिवर्तन हुन नसक्ने बताएका छन्।विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति, दोलखाद्वारा प्रकाशित पुस्तक ‘दोलखाली सर्जक...
कसैको निहित स्वार्थका लागि सरकारको नेतृत्व परिवर्तन हुँदैन : सञ्चारमन्त्री गुरुङ

काठमाडौं, मंसिर ११ :  सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सरकारको नेतृत्व परिवर्तन हुन नसक्ने बताएका छन्।

विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति, दोलखाद्वारा प्रकाशित पुस्तक ‘दोलखाली सर्जक पुस्तक समीक्षा’ को बिहीबार काठमाडौंमा विमोचन गर्दै सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले कुनै व्यक्ति वा समूहको निहित स्वार्थका लागि सरकारको नेतृत्व परिवर्तन हुन नसक्ने बताएका हुन्।

उनले राजनीतिक स्थिरता कायम गरी मुलुकलाई समृद्ध बनाउने राष्ट्रिय संकल्पलाई पूरा गर्न प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले इमान्दारिताका साथ काम गरिरहेको स्पष्ट पारे।  ‘कुनै व्यक्ति वा समूहको स्वार्थका लागि सरकारको नेतृत्व परिवर्तन हुनै सक्दैन,’ मन्त्री गुरुङले भने, ‘समृद्ध नेपालः सुःखी नेपाली’को राष्ट्रिय संकल्पलाई पूरा गर्न प्रधानमन्त्री ओलीको विकल्प छैन।’

मन्त्री गुरुङले सरकारको नेतृत्वबाहेक मन्त्रिपरिषद् हेरफेरका लागि आफूहरु मन्त्री पद त्याग गर्न तयार रहेको बताए। उनले भने, “हामी मन्त्रीहरु परिवर्तन हुन तयार छौँ, तर सत्ता र शक्तिकै लागि सरकारको नेतृत्व परिवर्तन हुँदैन।”

मन्त्री गुरुङले कोरोना महामारी जस्तो सङ्कटको समयमा सरकारको नेतृत्व गरेको पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद हुनु दुःखद भएको बताए। उनले भने,“सरकारले जनताको भावना अनुसार जनता, राष्ट्र र राष्ट्रियताको पक्षमा काम गरिरहेको छ, यो बेलामा सकारात्मक सोचका साथ सरकारलाई सहयोग गर्न आग्रह गर्दछु।” 
 

प्रकाशित मिति: ०१:०२ बजे, शुक्रबार, मंसिर १२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्