भक्तजन र श्रद्धालुलाई देवघाट नआउन आग्रह
चितवन, मंसिर ११ : कुनै पनि पर्वका अवसरमा देवघाट नआउन भक्तजन तथा श्रद्धालुलाई आग्रह गरिएको छ। देवघाट क्षेत्र विकास समितिले कोभिड–१९ को संक्रमणको...
चितवन, मंसिर ११ : अहिलेकाे अवस्थमा कुनै पनि पर्वका अवसरमा देवघाट नआउन भक्तजन तथा श्रद्धालुलाई आग्रह गरिएको छ। देवघाट क्षेत्र विकास समितिले कोभिड–१९ को संक्रमणको जोखिम यथावत रहेकाले देवघाटन नआउन आग्रह गरेको हो।
समितिका कार्यकारी निर्देशक धीरणबाबु घिमिरेले प्रेस विज्ञप्ति प्रकाशित गरी हरिबोधिनी एकादशी, बालाचतुर्दशीलगायतका मेला पर्वमा नआउन आग्रह गरेका हुन्।
विज्ञप्तिमा विभिन्न धार्मिक, सांस्कृतिक महत्वका मेलापर्वमा देवघाटधाममा श्रद्धालुको ठूलो जमघट हुने परम्परा रहिआएको भए पनि कोरोना भाइरस संक्रमणको जोखिम यथावत् नै रहेको र मेला पर्व, उत्सव गरी भीडभाड नगर्ने सरकारको नीति कायमै रहेकाले नआउन आग्रह गरिएको छ।
परिस्थितिवश गरिएको अनुरोधलाई सबैले मनन गरी घरमा नै बसी परम्पराअनुसार मनाउनसमेत अनुरोध गरिएको छ। देवघाटधाममा अधिकांश वृद्धवृद्धा बसोबास गर्दै आएका छन्।
चिसो मौसममा वृद्धवृद्धामा सङ्क्रमण फैलिएमा कठिन अवस्था आउन सक्ने समितिका अध्यक्ष शिवराज पौडेलले बताए। उनका अनुसार अन्त्येष्टि कर्ममा समेत सम्भव भएसम्म थोरै व्यक्ति आइदिन आग्रह गरिएको छ।
देवघाटधाममा औँसी, पूर्णिमा, एकादशी, माघे सङ्क्रान्ति, बालाचर्तुदशी, शिवरात्रि, साउने सङ्क्रान्तिलगायतका पवित्र दिनमा स्नान गर्न ठूलो सङ्ख्यामा भक्तजन आउने गर्दछन्।











