मर्दी हिमाल जान नयाँ पदमार्ग निर्माण शुरु
पोखरा, मंसिर १० : कास्कीको प्रसिद्ध पर्यटकीय गन्तव्य मर्दी हिमाल पुग्न नयाँ पदमार्ग बनाउन थालिएको छ। गण्डकी प्रदेश सरकारको १० लाख र जनसहभागिताबाट...
पोखरा, मंसिर १० : कास्कीको प्रसिद्ध पर्यटकीय गन्तव्य मर्दी हिमाल पुग्न नयाँ पदमार्ग बनाउन थालिएको छ। गण्डकी प्रदेश सरकारको १० लाख र जनसहभागिताबाट एक लाख गरी ११ लाख रुपैयाँमा उक्त बाटो निर्माण शुरु गरिएको हो।
बाटो निर्माण समितिका अध्यक्ष विश्वराज अधिकारीका अनुसार पदमार्ग निर्माणअन्तर्गत मेलबोटदेखि अस्तामसम्म बाटोको झाँडी फाँड्ने, कूल २३० मिटर बाटोमा सिँढी हाल्ने र ५० मिटर रेलिङ निर्माण गरिनेछ। मेलबोटदेखि अस्तामसम्म करिब पाँच किलोमिटर बाटोको निर्माण हुनेछ। मङ्सिरको पहिलो हप्ताबाट शुरु गरिएको उक्त बाटो निर्माणका लागि दैनिक २० देखि २५ मजदूर खटिएका छन्।
पछिल्लो समय पर्यटकीय पदमार्ग मोटरेबल बाटोले विस्थापित हुँदै गइरहेको अवस्थामा नयाँ बन्दै गरेको पदमार्गले पदयात्रामा रमाउने पर्यटक लाभान्वित हुने उनको विश्वास छ। ‘लालीगुराँसको जङ्गल, रुद्रमहादेव, पञ्चेबाजा पार्क, सुनझाँक्रीको थान, अस्ताम देउराली माइको मन्दिरलगायत धार्मिक तथा पर्यटकीय र जैविक विविधतासहित पर्यावरणका हिसाबले पनि यो क्षेत्र उपयुक्त रहेकाले पदमार्गबाट पर्यटक लाभान्वित हुनेछन्,’ अधिकारीले भने।
उनका अनुसार यस क्षेत्रमा पोखराबाट करिब दुई किलोमिटरको दूरीमा सुन्दर लालीगुराँस देख्न सकिन्छ। यो पाँच दिनदेखि सात दिनसम्मको पदमार्ग हो। मर्दी हिमाल र माछापुच्छे« नमूना ट्रेकलाई जोड्नका साथै संसारको सबैभन्दा उच्च स्थानमा साइकल लान सक्ने वातावरणका लागि यस पदमार्गले सहयोग पुग्ने उनको भनाइ छ। अधिकारीले प्रदेश सरकारको १० लाख रुपैयाँ बजेटबाट काम शुरु गरिएको र यसका लागि संघीय सरकारले समेत बजेट छुट्टाएको जानकारी दिए। ‘अहिले सीमित बजेटमा जनसहभागितामार्फत बाटो निर्माणमा जुटेका छौं, संघीय सरकारको बजेट आएपछि यसमार्गले पूर्णता पाउनेछ।’
ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) पश्चिमाञ्चलका अध्यक्ष सुशीलराज पौडेलले उक्त पदमार्गलाई टान मोडल ट्रेकसँग जोड्न संस्थागत अभ्यास गरिसकेको बताए। यस पदमार्गले ‘भिलेज टु भिलेज कनेक्टिभिटि’ हुने र छोटो दूरीका हाइकिङ र लामो दूरीको ट्रेकिङ दुवैको लागि उत्तिकै सहज हुने उनको भनाइ छ।
उक्त पदमार्ग हेम्जाको मेलबोट सुनझाँक्री, अस्तामदेखि धम्पुस हुँदै मर्दी हिमाल पुग्नेछ। कोभिड–१९ को महामारीबीच पनि आन्तरिक पर्यटकको लर्को लाग्ने गरेको मर्दी हिमालमा नयाँ पदमार्ग निर्माणले आगामी दिनमा पर्यटकको बसाई लम्बाउने र यस क्षेत्रका पर्यटकीय गतिविधिलाई बढाउने विश्वास माछापुच्छ्रे गाउँपालिका–६ का वडाध्यक्ष हरिश्चन्द्र ढुङ्गानाले बताए।










![नयाँ बसपार्कमा लाग्याे दसैं, यात्रुको घुइँचो [तस्बिररू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-19_17443265-1791548708.jpg)
-1791548477.jpg)