स्वाब लिएरै कोरोना परीक्षण गरि रिपोर्ट दिएका छौंः स्टार अस्पताल
भक्तपुर, मंसिर १० : ललितपुरकाे स्टार अस्पतालले परीक्षण गर्न आएका व्यक्ति स्वाब लिएरै परीक्षणपछि मात्रै कोरोना रिपोर्ट दिने गरेको जनाएको छ। केही सञ्चारमाध्यमले...
भक्तपुर, मंसिर १० : ललितपुरकाे स्टार अस्पतालले परीक्षण गर्न आएका व्यक्ति स्वाब लिएरै परीक्षणपछि मात्रै कोरोना रिपोर्ट दिने गरेको जनाएको छ। केही सञ्चारमाध्यमले टेस्ट नै नगरी नक्कली रिपोर्ट दिइएको भन्ने भ्रामक समाचार प्रकाशन तथा प्रसारण गरेकोमा अस्पतालले आपत्ति जनाएको छ।
अस्पतालले पत्रकार सम्मेलन आयोजना गरि सत्य तथ्यबिनाको आरोपले अस्पतालको मान, प्रतिष्ठा र मनोबलमा आघात पुर्याएको जनाएको छ। स्वास्थ्य तथा जनस्वास्थ्य मन्त्रालयलाई नागरिक उड्डयन मन्त्रालयले पठाएको चिठ्ठीको हवाला दिई छानविन हुनु अगावै स्टार अस्पताललगायत अन्य ल्याबहरुले नक्कली रिपोर्ट दिएको भन्ने गलत समाचार प्रकाशन तथा प्रसारण गरेको जनाएकोछ।
अस्पतालले इक्युए (एक्स्ट्रा क्वालिटी एसेसमेन्ट)का लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा १० नेगेटिभ र १० पोजेटिभ स्वाब पठाउने गरेको र त्यसमध्ये तीनवटा स्वाब हङकङ जाने गरेको पनि जनाएको छ। जसमध्ये नेगेटिभ स्वाब रहेको र त्यस नेगेटिभ स्वाबको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको इक्युएमा नेगेटिभ आएकोले सम्बन्धित व्यक्तिलाई नेगेटिभ आएको रिपोर्ट दिएको स्टार अस्पतालको भनाइ छ।
अहिले पनि ति स्वाब अस्पतालको प्रयोगशालामा सुरक्षित रहेको जनाएको छ। यसबाहेक पनि आरडिटि/पिसिआर परीक्षण आफैमा सत प्रतिशत सही नहुने र कुनै पनि व्यक्ति स्वाब दिइसकेपछि पुन संक्रमित हुने वा यात्रा गर्ने समयमा संक्रमण हुनसक्ने सम्भावना रहेको अस्पतालको भनाइ छ।











