Kathmandu Press

पुनर्निर्माण सकिएको डेढ वर्ष वितिसक्दा पनि हस्तान्तरण भएन कङ्केश्वरी मन्दिर

काठमाडौं, मंसिर ९ : साढे पाँच वर्षअघिको भूकम्पबाट भत्किएको कङ्केश्वरी मन्दिर पुनःनिर्माण भएको डेढ वर्ष बिते पनि मन्दिर स्थानीय समितिलाई हस्तान्तरण भएको छैन।...
पुनर्निर्माण सकिएको डेढ वर्ष वितिसक्दा पनि हस्तान्तरण भएन कङ्केश्वरी मन्दिर

काठमाडौं, मंसिर ९ : साढे पाँच वर्षअघिको भूकम्पबाट भत्किएको कङ्केश्वरी मन्दिर पुनःनिर्माण भएको डेढ वर्ष बिते पनि मन्दिर स्थानीय समितिलाई हस्तान्तरण भएको छैन। विसं २०७३ चैत ५ गते पुनःनिर्माण शुरु भएको मन्दिरको काम २०७६ जेठ २१ गते सम्पन्न भएको थियो ।

मन्दिर पुनःनिर्माणका क्रममा पुरातत्व विभाग र निर्माण व्यवसायीले कङ्केश्वरी गुठी एवं मन्दिर पुनःनिर्माण समितिलाई वास्ता नगर्दा संरचना बिगारिएको स्थाननीयवासीको गुनासो छ । गुठीका अध्यक्ष राम महर्जन स्थानीयवासीसँग समन्वय नगर्दा संरचना बिगारिएको बताउँछन् ।

 निर्माण व्यवसायीले मन्दिरका पुरातात्विक महत्वका सामग्रीसमेत गुठीलाई हस्तान्तरण गरेको छैन । पुनःनिर्माण समितिका अध्यक्ष राजुराज जोशी स्थानीयवासीलाई बेवास्ता गरी पुनःनिर्माण गर्दा पहिलेभन्दा मन्दिरको उचाइ बढी चौडाइ घटेको गुनासो आइरहेको बताउँछन् ।

मन्दिर पुनःनिर्माणको लागत रु तीन करोड १४ लाख भएकामा रु तीन करोड १२ लाखमा तुलसी/राजजेभीले पुनःनिर्माण गरेको विभागका इञ्जिनीयर पूर्णबहादुर श्रेष्ठले बताए । मन्दिर पुनःनिर्माण गरेको तुलसी/राजजेभी कन्स्ट्रक्सनका प्रबन्ध निर्देशक राम साह भने मन्दिर पुरानै आकार प्रकारमा पुनःनिर्माण भएको जिकिर गर्छन् । मन्दिर क्षेत्रमा रहेका विभिन्न समितिले आकारप्रकार मिलेन भनी आवाज उठाइरहेको निर्माण व्यवसायीको भनाइ छ । 
 
“मन्दिर क्षेत्रमा १७ वटा जति समिति छन्, पुनःनिर्माणका क्रममा गोदामघरमा सामान राखेको भाडा महिनामा रु २० हजार तिर्नुपर्‍यो, एउटा समितिले यो गर भन्छ, अर्कोले त्यो भत्का भन्छ, यसले गर्दा पनि काम गर्न पनि गाह्रो भयो”, उनले भने । विभागले ठेक्का आह्वान गर्नुअघि नै स्थानीयवासीले पुनःनिर्माण समिति गठन गरी सामुदायिकस्तरबाट मन्दिर बनाउन खोजेका थिए ।

समितिका अध्यक्ष जोशी स्थानीयवासीसँग विभागले मतलब नै नराखी ठेक्का आह्वान गरेको आरोप लगाउँछन् । 
पुनःनिर्माणका क्रममा निर्माण व्यवसायीले मन्दिरको ड्रइङ डिजाइन नदेखाएको र  पुनःनिर्माणस्थलमा सूचना पाटीसमेत नराखेको समितिले जनाएको छ। पुरानो स्वरुपअनुसार मन्दिर बनेन भन्ने गुनासो बढेकाले जाँच गर्दा त्यस्तो नदेखिए पुनःनिर्माण दोहोर्‍याउन लगाइने अध्यक्ष जोशीले बताए। 
  
चौडाइ घटाई उचाइ बढाएको गुनासो 

विभागका कारण भूकम्पले क्षतिग्रस्त कङ्केश्वरी मन्दिर पुनःनिर्माण हुँदा पहिलेभन्दा १४ इञ्च चौडाइ घटेको स्थानीयवासीको आरोप छ।

काठमाडौँ महानगरपालिका–१९ स्थित विष्णुमती किनारमा रहेको मन्दिरका पुजारी, नाइके, स्थानीयवासीलगायतले पहिलेकै स्वरुपमा मन्दिर पुनःनिर्माण हुनुपर्ने माग गर्दा पनि विभागले ठेक्का लगाएका निर्माण व्यवसायीले मानेनन्। विभागका प्राविधिक मन्दिर पुनःनिर्माणका क्रममा नभेटिएको समेत स्थानीयवासीको दुःखेसो छ । 

विसं २०७२ वैशाखअघि नै दक्षिणतिर ढल्किएको मन्दिरमा भूकम्पले क्षति भएपछि चामुण्डा देवीको मूर्ति बाहिर टहरामा राखी पूजा शुरु भएको थियो।  मन्दिरको चौडाइ १४ इञ्चसम्म घटाइएकाले दुई कुनामा पहिले राखिएको ऐनासमेत नअटेको हाल मन्दिरमा पूजासमेत गर्दै आएका रेखालु गोविन्द खड्काले बताए ।

“पुनःनिर्माण सकियो भनेपछि पहिले राखिएको ऐना राख्न खोज्दा अटेन, ऐना पनि टहरामा राखिएको छ, मन्दिर भत्काउनुअघि तस्वीरसमेत लिइएन, मन्दिरको चौडाइ घटाइएपछि छाएको पाता काटेर छाना छाइयो, काटेको एक बोरा पाता गोदाममा राखिएको छ”, उनले भने । 

चौडाइ घटाइएकै कारण मन्दिरका चार कुनामा राखिएको अर्नाको सिङसमेत नअटाएर गोदाममै थन्क्याइएको छ। पुरातात्विक महत्वको मन्दिर बनाउने बेलामा मन्दिर पुनःनिर्माण समिति र विभागले समेत ध्यान नदिँदा पुर्खाले दिएको नासो भावी पुस्तालाई हस्तान्तरण गर्न नसकिने अवस्थामा पुगेको स्थानीयवासीको गुनासो छ । 

पुनःनिर्माण गर्नुअघि मन्दिरको इशान कोणमा रहेको घण्ट अड्याउने ढुङ्गाको बीचबाट छिरेर रङरोगन गर्न सकिने ठाउँ भएकामा अहिले हात छिराउनसमेत अप्ठ्यारो हुने ठाउँ मात्र बाँकी रहेको मन्दिरका नाइके लाहुरे देउलाले बताए । निर्माण व्यवसायीले चौडाइ घटाएर पहिलेभन्दा एक फिट उचाइ बढाएको उनले आरोप लगाए। 

“मन्दिर पहिलेकै स्वरुपमा नबनाई अनियमितता गरिएकाले विभागलाई निर्माण व्यवसायीको भुक्तानी रोक्न भनेका छौँ”, मन्दिरका नाइके देउलाले भने।  विभागले भने पुनःनिर्माणको भुक्तानी गरिसकिएको जनाएको छ । मन्दिरको सत्तलमा सामान राखिएको भाडा चामुण्डा परिवार नामक गैरसरकारी संस्थाले लिएर अनियमितता भएको उनले आरोप लगाए। 

महानगरपालिका–१९ का अध्यक्ष शशीलाल श्रेष्ठ मन्दिरको चौडाइ पहिलेभन्दा घटाइएको बताउँछन् । “मन्दिरको चार वटै कुनामा राखिएको सिंहले पनि मन्दिरको चौडाइ घटेको पुष्टि गर्छ, निर्माण व्यवसायीले विभागले दिएको डिजाइनअनुसार नै काम गरेको भने पनि मन्दिरको स्वरुप पहिलेभन्दा बिग्रिएको छ”, उनले भने ।

मन्दिरको उत्तरतिर दुवै कुनामा राखिएका ढुङ्गामा कुँदिएका सिंहको मूर्ति मिलेको छैन । दक्षिणतिरको भने मिलेको स्थानीयवासीले सुनाए । मन्दिर पुनःनिर्माणका क्रममा विष्णुमती किनार अर्थात् मन्दिरको पश्चिम भागमा रहेको ऐतिहासिक पीपलको रुखसमेत काटियो । रुख काट्न आदेश दिनेको भने दुर्गति भएको विचार नाइके देउलाले व्यक्त गरे।   

विभागका प्रवक्ता रामबहादुर कुँवर मन्दिरको पुरानो स्वरुप पुनःनिर्माणका क्रममा नबिगारिएको बताउँछन् । पुरातात्विक महत्वका सम्पदा पहिलेकै स्वरुपमा पुनःनिर्माण गर्ने विभागको नीति रहेकाले त्यसभन्दा तलमाथि हुन नसक्ने उनको भनाइ थियो । मुख्य शहरमा कङ्केश्वरीलाई अष्टमातृकामध्ये एक मानिन्छ।

राजधानीको मुख्य शहरमा रहेका भद्रकाली, इन्द्रायणी, तीनधारा पाठशालासँगैको पासीको अजिमा, नेपाली सेनाको मुख्यालयसँगैको फिपुको अजिमा, टङ्केश्वरी, नइ अजिमा, नारायणहिटी दरबारभित्रको अजिमालगायतलाई अष्टमातृकाका रुपमा पुजिन्छ । घोडेजात्राका बेलामा कङ्केश्वरीको जात्रा हुने गरेको छ। रासस
 

प्रकाशित मिति: १९:४९ बजे, मंगलबार, मंसिर ९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्