भेरीमा जलयात्रा ६ वर्षदेखि अलपत्र
जाजरकोट, मंसिर ९ : प्रथम जाजरकोट महोत्सवको अवसरमा भेरी नदीमा ६ वर्षअघि सुरु गरिएको जलयात्रा अलपत्र परेको छ।भेरी नदीको रिम्नाबजारबाट जगतीपुरस्थित मटेलासम्म २०...
जाजरकोट, मंसिर ९ : प्रथम जाजरकोट महोत्सवको अवसरमा भेरी नदीमा ६ वर्षअघि सुरु गरिएको जलयात्रा अलपत्र परेको छ।
भेरी नदीको रिम्नाबजारबाट जगतीपुरस्थित मटेलासम्म २० किलोमिटर दूरीमा र्याफ्टिङ सञ्चालन गर्नेगरी सुरु गरिएको थियो। पूर्वाधार निर्माणबिनै सुरु भएको जलयात्रा नियमित हुन नसकेको स्थानीय बासिन्दा बताउँछन्।
नेपाल पर्यटन बोर्ड र प्रथम जाजरकोट महोत्सव आयोजक समितिको लगानीमा भेरी–कर्णाली एडभेञ्चर प्रालि सुर्खेतले जलयात्रा सुरु गरेको थियो। एडभेञ्चरले दुईवटा डुङ्गा ल्याएर नदीमा जलयात्रा सञ्चालन गरेको थियो।
तर, यो दिगो नबन्दा जाजरकोटको पर्यटन क्षेत्र खस्किएको व्यवसायी कमानबहादुर खड्काले बताए। अन्य नदीको तुलनामा भेरी नदीमा जलयात्रा गर्न सहज र कम जोखिम रहेको बताइन्छ।
जलयात्रा सञ्चालन गरे आन्तरिक र बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्न सक्ने उनको भनाइ छ। भेरी नदीमा २० किलोमिटर दूरीको यात्रा गर्न दुई घन्टा लाग्ने गरेको छ।
पूर्वाधार, जनशक्ति र बजेट अभावमा जलयात्रा अलपत्र परेको सरोकारवाला निकायले बताउँदै आएका छन्। जलयात्राले जिल्लाको आर्थिक वृद्धिमा पनि सहयोग पुरर्याउने अपेक्षा गरिएको भए पनि सञ्चालन नहुँदा समस्या भएको छ। (रासस)











