चिडियाखाना खोल्ने तयारी, तर अनुमति मिलेन
ललितपुर, मंसिर ९ : नौ महिनादेखि बन्द रहेको जावलाखेलस्थित सदर चिडियाखा कहिले खोल्ने भन्ने विषय अझै यकिन भएको छैन। चिडियाखाना व्यवस्थापनले स्वास्थ्य मापदण्ड...
ललितपुर, मंसिर ९ : नौ महिनादेखि बन्द रहेको जावलाखेलस्थित सदर चिडियाखा कहिले खोल्ने भन्ने विषय अझै यकिन भएको छैन। चिडियाखाना व्यवस्थापनले स्वास्थ्य मापदण्ड पूरा गरी तिहारपछि खोल्ने तयारी गरे पनि कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसीएमसी)बाट निर्णय नआउँदा कहिले खुल्ने भन्ने निश्चित नभएको हो।
विश्वभर फैलिएको कोभिड–१९ का कारण गत चैत ७ गतेदेखि अवलोकनका लागि पूर्णरूपमा चिडियाखाना बन्द गरिएको थियो। लामो समयसम्म बन्द रहँदा जीव जनावरको खानपान र कर्मचारी व्यवस्थापन गर्न समस्या भएकाले खोल्ने तयारी गरे पनि निर्णय नआएकाले अन्योल भएको चिडियाखाना व्यवस्थापन प्रमुख डा. चिरञ्जीवीप्रसाद पोखरेलले बताए।
'कोरोना भाइरस सङ्क्रमण कम भएको छैन, त्रास केही कम भएकाले सावधानी अपनाएर खोल्ने तयारी गरेको हो। त्यसका लागि मापदण्ड पनि तयारी अवस्थामा छ,' पोखरेलले भने।
मास्क अनिवार्य ल्याउनुपर्ने, एकपटकमा आठ सय मानिसलाई मात्र अवलोकन गर्न दिने, चिडियाखानाभित्र बसेर खान र जीवजनावरलाई खुवाउन छुन नपाउने, एक व्यक्ति बढीमा डेढ घन्टा मात्र बस्न पाउने, बालबालिकालाई खेलाउन नपाउनेजस्ता मापदण्ड तयार गरिएको छ।
यसअघिझैँ हरेक दिन बिहान १० देखि साँझ ५ बजेसम्म अवलोकनका लागि सञ्चालन हुने गरी नै मापदण्ड तयार गरिएको भए पनि एकपटकमा केही सीमित व्यक्तिलाई मात्रै प्रवेशको व्यवस्था गरिएको छ। हाल चिडियाखानामा ११० प्रजातिका एक हजार ६८ जीवजनावर रहेका छन्।
यहाँ मुख्य आकर्षणका रूपमा बाघ, भालु, चितुवा, रेडपाण्डा आदि रहेका छन्। ती प्रजातिमध्ये ३३ स्तनधारी, ६१ चरा, आठ उभयचर र १७ प्रजातिका माछा छन्। नेपालमा लोप हुन लागेको भनी सूचीकृत ३८ दुर्लभ वन्यजन्तुमध्ये १५ लाई चिडियाखानाले संरक्षण गरी प्रदर्शनीमा राखेको छ।
उक्त स्थानमा अवलोकनका गर्न विदेशीका लागि रु ७५०, सार्क राष्ट्रका पाहुनाका लागि रु ५००, नेपालीलाई रु १५० र नेपाली विद्यार्थी तथा ज्येष्ठ नागरिकका लागि रु ९० शुल्क निर्धारण गरिएको छ। वार्षिक ११ लाख दर्शक अवलोकन गर्न आउने यहाँ प्रवेश शुल्कबाट नै वार्षिक रु १५ देखि १६ करोडसम्मको आर्थिक कारोवार हुने गरेको छ।
अवलोकन गर्न आएका अवलोकनकर्ताबाट प्राप्त शुल्कबाट कर्मचारी व्यवस्थापन र जनावरलाई खानपानको व्यवस्थापन गर्दै आएको चिडियाखानामा विगत आठ महिनादेखि आम्दानी शून्य भएपछि खर्च व्यवस्थापन गर्न समस्या भएको छ। कोरोनाका कारण बन्द हुनुअघि ८० कर्मचारी कार्यरत थिए।
अहिले व्यवस्थापन गर्नै समस्या भएपछि २० कर्मचारी कटौती गरिसकेको जनाइएको छ। अब तत्काल सञ्चालनमा नल्याए थप समस्या हुनेछ। (रासस)











