Kathmandu Press

खराब मौसमका कारण प्रधानमन्त्रीको नेपाल-भारत सीमा क्षेत्र अवलोकनको कार्यक्रम प्रभावित

पशुपतिनगर, मंसिर ८ : प्रधानमन्त्री केपी शर्मा ओलीले इलामको नेपाल-भारत सीमा क्षेत्र अवलोकन गर्ने कार्यक्रम खराब मौसमका कारण प्रभावित भएको छ।इलामको उत्कृष्ट पर्यटकीयस्थल...
खराब मौसमका कारण प्रधानमन्त्रीको नेपाल-भारत सीमा क्षेत्र अवलोकनको कार्यक्रम प्रभावित

पशुपतिनगर, मंसिर ८ : प्रधानमन्त्री केपी शर्मा ओलीले इलामको नेपाल-भारत सीमा क्षेत्र अवलोकन गर्ने कार्यक्रम खराब मौसमका कारण प्रभावित भएको छ।

इलामको उत्कृष्ट पर्यटकीयस्थल जौबारी डाँडामा स्थापित सशस्त्र प्रहरीको सीमा सुरक्षाचौकी उद्घाटनसँगै सीमा क्षेत्रको अवलोकन गर्ने उनको कार्यक्रम थियो।  प्रधानमन्त्री ओली अपराह्न २ बजे जौबारी आएर सीमा क्षेत्रको अवलोकन, सीमा सुरक्षाचौकी उद्घाटन र  सर्वसाधारणलाई सम्बोधन गर्ने कार्यक्रमको तयारी गरिएको थियो।

बाक्लो कुहिरो र  हुस्सुका कारण प्रधानमन्त्री सवार हेलिकप्टर अवतरण नभएपछि नेपाल भारत सीमा क्षेत्रमा पर्ने  इलामको सन्दकपुर र माइजोगमाई गाउँपालिकाको सङ्गमस्थल जौबारीमा स्थापित सीमा सुरक्षाचौकीको प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले उद्घाटन गरेका थएि।

सो अवसरमा आन्तरिक मामिलामन्त्री कार्कीले गोठाला र विनाबर्दीका जनताले जोगाएको सीमा क्षेत्रमा सरकारी निकायको उपस्थितिपछि आपराधिक घटना  घट्ने बताए।  प्रदेश १ सरकारका कृषि, भूमि व्यवस्था तथा सहकारी राज्यमन्त्री रामबहादुर मगरले नेपाल भारत सीमा क्षेत्रमा सीमा सडक निर्माण गर्नुपर्नेमा जोड दिए। 

कार्यक्रममा प्रदेशसभा सदस्य खिनुलङ्वा लिम्बू, काजीमान कागते र  धीरेन्द्र शर्मा रमण, जिल्ला समन्वय समिति प्रमुख गणेश बराल, सशस्त्र प्रहरी बराह बाहिनीपति वंशीराज दाहाल, सन्दकपुर गाउँपालिकाका अध्यक्ष उदय राई र  माइजोगमाई गाउँपालिकाका अध्यक्ष जीतबहादुर राईले सीमा क्षेत्रमा सुरक्षाकर्मीको सङ्ख्या बढाइएसँगै जनताले सुरक्षित महसुस गर्ने बताएका थिए।

प्रधानमन्त्री उपस्थित हुने भनिएको कार्यक्रममा इलाम उत्तरी क्षेत्रका करीब दुई हजार जनताको सहभागिता थियो। इलामको सन्दकपुरदेखि जिर्मलेसम्म साढे ५२ किलोमिटरसम्म नेपाल भारत सीमा क्षेत्र रहेको इलाममा अहिले धमाधम बोर्डर आउट पोष्ट स्थापना भइरहेको छ । पशुपतिनगर, कालपोखरी, छब्बीसे, समालबुङ, सलकपुर र जौबारीमा बिओपी स्थापना भएपछि इलामको सीमा सुरक्षा मजबुत भएको प्रमुख जिल्ला अधिकारी तुलसीराम सेढाईँले बताए। रासस
 

प्रकाशित मिति: ००:५७ बजे, मंगलबार, मंसिर ९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्