विस्फोट पदार्थसहित विप्लव समूहका ६ जना नेता-कार्यकर्ता पक्राउ
लमजुङ, मंसिर ८ : विस्फोटक पदार्थसहित नेत्रविक्रम चन्द विप्लव समूहका ६ नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ।दोर्दी गाउँपालिका–५ खिमचोक पाँचस्वाँरामा उनीहरुले अवाच्छनीय...
लमजुङ, मंसिर ८ : विस्फोटक पदार्थसहित नेत्रविक्रम चन्द विप्लव समूहका ६ नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ।
दोर्दी गाउँपालिका–५ खिमचोक पाँचस्वाँरामा उनीहरुले अवाच्छनीय गतिविधि गरिरहेको भन्ने गोप्य सूचनाका आधारमा सोमबार दिउँसो प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर थापाको नेतृत्वमा गएको टोलीले तिनलाई घेराबन्दी गरेर पक्राउ गरेको हो।
पक्राउ पर्नेमा रोल्पा गङ्गादेव गाउँपालिका-२ का लमजुङ इञ्चार्ज भनिने ४२ वर्षीय जङ्गबहादुर भण्डारी, लमजुङ दोर्दी–७ घर भएका जिल्ला सेक्रेटरी भनिने ४६ वर्षीय बिलबहादुर गुरुङ, मध्यनेपाल नगरपालिका वडा नं ४ घर भएका लमजुङ जिल्ला कमिटी सदस्य भनिने ६२ वर्षीय नारायणबहादुर कुँवर, राइनास नगरपालिका–६ घर भएका जिल्ला कमिटी सदस्य भनिने ३४ वर्षीय रवीन्द्र नखोला रहेको थापाले बताए। उनका अनुसार समूहका कार्यकर्ता दोर्दी–७ घर भएका २२ वर्षीय दुर्गालाल तामाङ र मध्यनेपाल–१० घर भएका २६ वर्षीय सुजन थापालाई पनि प्रहरीले पक्राउ गरेको छ।
अभियुक्तलाई पक्राउ गरी खाजतलासी गर्नेक्रममा उनीहरुले झोलाभित्र लुकाइराखेको विस्फोटक पदार्थ पनि प्रहरीले बरामद गरेको छ। त्यस्तै, पार्टीसँग सम्बन्धित कागजपत्र, नगद, ग १५ प ८१३७ नम्बर र बा ७४ प ७०८७ नम्बरका मोटरसाइकल, मोबाइल सेट र सिमकार्ड पनि बरामद गरिएको छ।
उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखी विस्फोटक पदार्थसम्बन्धी कसूरअन्तर्गत थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस











