Kathmandu Press

फाब्रिगास्ले छाडेको छाप

आर्सेन वेंगर उनलाई मिसेल प्लाटिनी र पल स्कोल्ससँग तुलना गर्थे । होजे मौरिन्होको नजरमा उनी एक उस्ताद थिए । र, आन्टोनियो कोन्टे उनलाई एक सेकेन्डमै बाजी पल्टाउन सक्ने खेल....

फाब्रिगास्ले छाडेको छाप

आर्सेन वेंगर उनलाई मिसेल प्लाटिनी र पल स्कोल्ससँग तुलना गर्थे । होजे मौरिन्होको नजरमा उनी एक उस्ताद थिए । र, आन्टोनियो कोन्टे उनलाई एक सेकेन्डमै बाजी पल्टाउन सक्ने खेलाडी मान्थे ।
 
उनी अर्थात्, सेस् फाब्रिगास् । स्पेनका यी ३१ वर्षीय मिडमिल्डर यो मध्य–सिजनमा चेल्सी छाडेर मोनाको जाँदैछन् । फ्रेन्च लिगमा रेलिगेसनबाट जोगिन संघर्षरत मोनाकोलाई फाब्रिगास्ले जोगाउलान् त ?

यो प्रश्नको उत्तर अझै अनिश्चत छ । तर, के अनिश्चित छैन भने फाब्रिगास्ले आफूलाई एक उत्कृष्ट फुटबलर सावित गरिसकेका छन् । पेप ग्वार्दिओला भन्छन्, “जब फाब्रिगास्को खुट्टामा बल हुन्छ, तब ऊ विश्वकै उत्कृष्ट खेलाडीमा बद्लिन्छ ।”

वेंगर, मौरिन्हो, कोन्टे र ग्वार्दिओला सबैले फाब्रेगास्सँगै ट्रफी जितेका छन् । उनले वेङ्गरसँग आर्सनल छँदा एफए कप जिते । मौरिन्होसँग चेल्सीमा छँदा प्रिमियर लिग जिते । कोन्टेसँग त प्रिमियर लिग र एफए कप दुबै जिते । फाब्रिगास्ले ग्वार्दिओलासँग स्पेन र यूरोपको सुपर कप, कोपा देल रे र वल्र्ड क्लब कप जितेका छन् ।

ट्रफीका लागि मात्र होइन, खेल कौशलका लागि पनि फाब्रिगास् प्रसिद्ध छन् । खेलको गति नियन्त्रण गर्न सक्ने खेलाडीको रुपमा लिइन्छ, फाब्रिगास्लाई । खेलमा कब्जा जमाउन छोटो पासदेखि विपक्षीलाई चिर्ने लामो पास दिन माहिर छन्, उनी । तुरुन्तै निर्णय लिन सक्ने उनको क्षमता अद्भूत छ ।

फाब्रिगासले प्रिमियर लिगमा एकसय ११ ‘असिस्ट’ गरे । उनीभन्दा अघि रायन गिग्समात्रै छन् । गिग्स र फाब्रिगासबाहेक अहिलेसम्म सयभन्दा धेरै असिस्ट गर्ने खेलाडी वेन रुनी र फ््रयांक लाम्पार्ड मात्रै हुन् ।

यद्यपि, यस्तो कीर्तिमान रच्दा पनि फाब्रिगासलाई धेरैले ‘अल टाइम ग्रेट’ को सूचिमा राख्दैनन् । किनकि, उनले लाम्पार्ड, गिग्स, डेनिस बर्गक्याम्प, स्टिभन जेरार्ड, थियरी अन्री र डेभिड सिल्भाले जस्तै एउटै क्लबका लागि मात्रै असिस्ट गरेनन् ।

उनको करिअर स्पेनबाटै सुरु भयो । सन् २००८ को यूरो कपअघिसम्म स्पेन इटालीसँगै सधैं भयभीत हुन्थ्यो । तर, उनको निर्णायक पेनाल्टीकै कारण स्पेनले इटालीमाथि विजय पायो । जब खेल पारखीहरू सन् २०१० को विश्वकप सम्झन्छन्, तब फाइनल खेलको अतिरिक्त समयमा आन्द्रेस इनियस्टाले गरेको निर्णायक गोल सम्झिन्छन् ।

तर, त्यो गोल फाब्रिगास्कै पासमा संभव भएको थियो । स्पेनकोे यूरो कप–२०१२ को विजययात्रामा पनि फाब्रिगासले महत्वपूर्ण योगदान पु¥याएका थिए ।

फाब्रिगास् जब आर्सनल गए, उनी करिअरको शिखरमा पुग्दै थिए । तर, गनर्स चाहिँ ओरालो लाग्दै थियो । सन् २००४ को प्रिमियर लिग विजेताले अर्काे वर्ष उपाधि जोगाउन सकेन् । लगत्तै प्याट्रिक भिएराले पनि क्लब छाडे ।

तर, फाब्रिगास्ले आर्सनललाई महत्वपूर्ण जीतहरू दिलाए । सन् २००६ मा उनको योगदानमा आर्सनलले च्याम्पियन्स लिग जित्नै लागेको थियो । वार्सिलोनाविरुद्धको फाइनल खेलमा आर्सनलले १–० को अग्रता लिइसकेको थियो । तर, उनलाई मैदान बाहिर बोलाइयो । र, आर्सनल २–१ गोलअन्तरले पराजित भयो । त्यसपछि लगातार पाँच सिजनसम्म आर्सनलले कुनै उपाधि जित्न सकेन । तैपनि, फाब्रिगास्को काँधले गनर्सलाई बोकिरह्यो ।

सन् २०१० मा प्रिमियर लिग खेल्ने टिममा दोश्रो पटक परेका फाब्रिगास्ले आर्सनलका लागि १५ गोल गरे । तर लिग जत्न सकेनन् । फाब्रिगास् सन् २०११ मा वार्सिलोना फर्किए । तर उनले वार्सिलोनाको सफलता खासै चाख्न पाएनन् ।

उनी आउनुअघि नै म्यान्चेस्टर युनाईटेडलाई हराउँदै वार्सिलोनाले च्याम्पियन्स लिग २०११ जितिसकेको थियो । यो ग्वार्दिओलाको समय थियो । जाभीका उत्तराधिकारी मानिएका फाब्रिगास्ले आफ्नो भूमिका पत्ता लगाउन नसक्दा ला लिगा रियल म्याड्रिडले जित्यो ।

चेल्सीबाट प्रिमियर लिग खेल्न फर्किदा फाब्रिगास्ले उत्तर लन्डनमा कमाएको प्रतिष्ठा धरापमा प¥यो । उनलाई आर्सनल नल्याउने वेङ्गरको निर्णय थियो, तर इमिरेट्स स्टेडियममा उनलाई त्यसै खलनायकको रुपमा चित्रण गरियो । त्यो त्यही रंगशाला हो, जसको अस्तित्वको आधा दशकसम्म उनकै जगजगी थियो । मैदान ओर्लिदा सबैले फाब्रिगास्विरुद्ध हुटिङ गरेका थिए ।

चेल्सीलाई प्रिमियर लिगको उपाधि जिताए पनि उनलाई खासै सहयोग पुगेन् । सन् २०१४–१५ को त्यो सिजनमा उनले उत्कृष्ट प्रदर्शन गरे । सिल्भा, मेसुट ओजिल र ह्वान माटाको असिस्ट जोड्दा पनि उनको बराबर थिएन ।

स्ट्याम्फोर्ड ब्रिजमा फाब्रिगास्ले अझ कठिन सिजन सहे । चेल्सीका म्यानेजर मौरिन्हो बाहिरिनुमा उनीजस्ता ‘विश्वासघाती’को भूमिका रहेको भन्दै एउटा ब्यानर राखिएको थियो । तर उनी अत्तालिएनन् । सन् २०१६–१७ को सिजनमा मात्रै १३ खेल खेलेर एक दर्जन असिस्ट सहित चेल्सीलाई प्रिमियर लिगको उपाधि जिताए ।

यति बेलासम्म फाब्रिगासको खेल परिवर्तन भइसकेको थियो । आर्सनलमा रहँदा मिडफिल्डर र बार्सिलोनाको ‘फल्स नाइन’ भएर खेलेका फाब्रिगास्ले अब ‘प्लेमेकर’को विशेषज्ञता हासिल गरिसकेका थिए । द्रुत गतिको लिगमा उनको उपयुक्ततालाई लिएर बारम्बार प्रश्न उठे ।

फाब्रिगास् अघि बढ्ने अहिले नै सही समय भएको धेरैले स्वीकारेका छन् । चेल्सी छाड्दा उनी प्रियभन्दा प्रशंसित खेलाडी कहलिए । चेल्सी र चेल्सीप्रेमीका ‘आफ्नै’ थिएनन्, फाब्रिगास । उनले आर्सनलबाटै धेरै थोक पाईसकेका थिए । यद्यपि, उनको बेलायती फुटबल क्यारियरलाई बेवास्ता भने गर्न सकिदैंन ।

फाब्रिगासलाई कुनै एउटा क्लबकोभन्दा पनि प्रिमियर लिगको ‘लिजेन्ड’ का रुपमा स्मरण गरिने छ । प्रिमियर लिगमा एक सय ५० खेल खेलेर यति धेरै मनोरञ्जन दिएका फाब्रिगासजस्ता खेलाडीका लागि यही नै ठीक होला ।

आफ्नै असिस्ट रेकर्डबारे फाब्रिगासले गरेको स्वमुल्यांकनले उनी को हुन् भन्ने प्रष्ट बुझाउँछ । ‘म सबैभन्दा छिटो होईन, म सबैभन्दा बलियो होईन, म सबैभन्दा लचिलो पनि छैन र म धेरै माथिसम्म उफ्रिन सक्दिनँ,’ फाब्रिगास भन्छन, ‘तर यो कीर्तिमान मेरो क्यारियरको सबैभन्दा गौरवशाली उपलब्धिमध्ये एक हो, किन भने यो मेरो काम हो र मैले यसलाई राम्ररी पूरा गरेँ ।’

फाब्रिगास मोनाकोबाट सन् २०२२ सम्म खेल्ने छन् । आर्सनलमा रहँदा फाब्रिगाससँगै फुटबल खेलेका थियरी अनरी क्लबका प्रशिक्षक छन् । चेल्सीका लागि उनले साढे चार वर्षमा एक सय ९८ खेल खेलेका छन् । यो अवधिमा क्लबले दुई पटक प्रिमियर लिग, एउटा एफए कप र एउटा लिग कप जितेको छ ।

प्रिमियर लिगका चर्चित खेलाडी फ्रानसेस्क ‘सेस्क’ फाब्रिगास चेल्सी छोडेर मोनाको फुटबल क्लब पुगेका छन् । स्पेनका ३१ वर्षीय मिडफिल्डरले फ्रान्सको ‘लिग वान’ मा रेलिगेसनमा पर्ने खतरामा रहेको मोनाकोलाई पार लगाउने धेरैको अपेक्षा छ ।
(एजेन्सीको सहयोगमा)

प्रकाशित मिति: १४:४४ बजे, मंगलबार, माघ ८, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्