Kathmandu Press

थापाथलीदेखि सानेपासम्मका देवालयको पुनःनिर्माण सुरु

काठमाडौं, मंसिर ८ : थापाथली पुलबाट सानेपा पुलसम्मको करिब तीन किलोमिटर बागमती किनारमा सौन्दर्य अभिवृद्धिका क्रममा त्यस क्षेत्रका २८ वटा देवालयको पनि पुनःनिर्माण...
थापाथलीदेखि सानेपासम्मका देवालयको पुनःनिर्माण सुरु

काठमाडौं, मंसिर ८ : थापाथली पुलबाट सानेपा पुलसम्मको करिब तीन किलोमिटर बागमती किनारमा सौन्दर्य अभिवृद्धिका क्रममा त्यस क्षेत्रका २८ वटा देवालयको पनि पुनःनिर्माण सुरु भएको छ।

नदीको दायाँबायाँ गरी करिब ६ किमी बागमती किनारमा सौन्दर्य अभिवृद्धिसँगै त्यहाँ रहेका धार्मिक, सांस्कृतिक, ऐतिहासिक र पुरातात्विक दृष्टिले महत्वपूर्ण देवालय पुनःनिर्माण सुरु गरिएको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले जनाएको छ।

एशियाली विकास बैङ्कको एक अर्ब २८ करोड ऋण सहयोगमा नदीको दायाँबायाँ सौन्दर्य अभिवृद्धिसँगै देवालय पुनःनिर्माण पनि गर्न लागिएको समितिका सूचना अधिकारी कमल अर्यालले बताए। यो बजेटबाट गोकर्णेश्वर नगरपालिका–४ स्थित उत्तरवाहिनी क्षेत्रको करिब दुई सय मिटर नदी किनारका पुरातात्विक महत्वका सत्तल पुनःनिर्माण र सौन्दर्य अभिवृद्धि गरिनेछ।

समितिले गोकर्ण ब्यारेजबाट सिनामङ्गलसम्मको करिब सात किमीमा पनि नदी सौन्दर्य अभिवृद्धिको काम गरिरहेको छ। मुआब्जा विवादका कारण रोकिएको काम आजैदेखि पुनः सुरु गर्न आइतबार सरोकार भएका निकायबीच सहमति भएको छ।

गोकर्ण ब्यारेजबाट सिनामङ्गलसम्मको सौन्दर्य अभिवृद्धिको काम एक अर्ब ९० करोड लागतमा भइरहेको छ। मुआब्जा विवादका कारण करिब एक वर्षदेखि रोकिएको कामको हालसम्म ७६ प्रतिशत भौतिक र ६८ प्रतिशत वित्तीय प्रगति भएको जनाएको छ।

आगामी पुसमा म्याद सकिने भएपछि एक वर्ष थप गर्न समितिले शहरी विकास मन्त्रालयमा पत्राचारसमेत गरेको छ।

सिनामङ्गलबाट थापाथली पुलसम्मको नदी किनारमा भने सुकुम्वासी बस्ती रहेकाले सौन्दर्य अभिवृद्धिको काम अघि बढाउन नसकिएको सूचना अधिकारी अर्यालले बताए। समितिले बागमती नदी किनारमा रहेका सार्वजनिक जग्गालगायत सम्पत्तिसम्बन्धी कार्यविधिको मस्यौदा निर्माणसमेत सुरु गरेको जनाएको छ। तीन महिनाभित्रमा कार्यविधि जारी हुने गरी काम भइरहेको छ। (रासस)

प्रकाशित मिति: १६:३० बजे, सोमबार, मंसिर ८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्