Kathmandu Press

वागमती सफाइ महाअभियान : ४००औँ हप्तालाई विशेष बनाइने

काठमाडौं, मंसिर ७ : वागमती सफाइ महाअभियानको ४०० हप्ताको कार्यक्रमलाई विशेष कार्यक्रम बनाउने तयारी शुरु भएको छ। विसं २०७० जेठ ५ गतेदेखि शुरु...
वागमती सफाइ महाअभियान : ४००औँ हप्तालाई विशेष बनाइने

काठमाडौं, मंसिर ७ : वागमती सफाइ महाअभियानको ४०० हप्ताको कार्यक्रमलाई विशेष कार्यक्रम बनाउने तयारी शुरु भएको छ। विसं २०७० जेठ ५ गतेदेखि शुरु भएको सफाइ स्वयंसेवी महाअभियान आगामी पुस २५ गते ४०० औँ हप्तामा प्रवेश गर्दैछ। सो अवसरमा केही विषयलाई स्पष्ट पारेर अघि बढ्नुपर्नेमा मुख्य अभियानकर्मी एवं पूर्व मुख्यसचिव लीलामणि पौडेलले जोड दिएकम छन्।

भर्चुअल माध्यमबाट शनिबार आयोजना गरिएको छलफल कार्यक्रममा उनले महाअभियान विनापैसाको एवं कुनै समिति नबनाई सञ्चालनमा रहेको बताए।

‘महाअभियानमा धेरै पैसा आएको छ, त्यही भएर अभियानकर्मी लामो समयदेखि लागिपरेका छन् भन्ने भ्रम आम मानिसमा परिरहेको छ। निःस्वार्थ वाग्मती किनारमा जम्मा भएर दिसापिसाबलगायत फोहर सफाइ गर्दा पनि पैसाका पछि लागेको आरोप खेप्नुपरेकाले यसलाई जनसमक्ष प्रष्ट पार्नुपर्छ,’ चीनका लागि पूर्वनेपाली राजदूतसमेत रहेका पौडेलले अभियानकर्मीलाई सम्बोधन गर्दै भने। अधिकारसम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिसँग सहकार्य गरेका कारण यस्तो आरोप लागेकामा पुनःविचार गर्न अभियानकर्मीले माग गरेका छन्। 

महाअभियान शुरु भएको १२ हप्तासम्म पनि अधिकार सम्पन्न वागमती महाअभियानसँग जोडिएको थिएन। कार्यक्रममा अभियानकर्मी ओम बस्नेतले अधिकारसम्पन्न वागमतीसँग सहकार्य नगरी स्वतन्त्र स्वयंसेवी महाअभियानका रुपमा वागमती सफाइलाई अघि बढाउनुपर्ने बताए।
 
विगतमा भगवान्दास मानन्धरले एक्लै वागमती सफाइ शुरु गरेजस्तै स्वयंसेवी अभियानकर्मीमात्र सहभागी भएर सफाइ अभियानलाई अघि बढाउनुपर्नेमा कार्यक्रममा अभियानकर्मी राजकुमार भट्टराई, नारायणकुमार श्रेष्ठ, सन्तोष श्रेष्ठ, गोविन्द काफ्ले, चक्रबहादुर चन्द, प्रिया लामिछानेलगायतले जोड दिएका थिए। हुतराम वैद्यले पनि लामो समयसम्म एक्लै वागमती सफाइ चलाएका थिए।
  
अभियानकर्मीले सो दिन वागमतीलगायत यसका सहायक नदीका मुहान क्षेत्रमा माछाका भुरा छाडेर सकारात्मक सन्देश दिनुपर्नेमा पनि उनीहरुले जोड दिएका थिए। वागमतीलगायत यसका सहायक नदीको दायाँबायाँ खाली रहेको जग्गामा बगैँचा बनाएर पनि नदी सभ्यता संरक्षणमा सहयोग गर्न सकिने अभियनकर्मीको भनाइ थियो।
  
अभियानकर्मीसमेत रहेका पूर्वसचिव किशोर थापाले कोरोना भाइरसको सङ्क्रमणका कारण अभियानकर्मी टाढा हुन थालेकाले उपत्यकाका १८ वटै स्थानीय तहलाई वागमती र यसका सहायक नदी सफा राख्न जिम्मेवार बनाउने गरी कार्यक्रम अघि बढाइनुपर्ने बताए। उपत्यकावासीका घरघरमा सफाइ अभियानका विषयमा चेतना जगाई कुहिने र नकुहिने फोहरलाई छुट्याएर वर्गीकरण गरिनुपर्ने उनको भनाइ थियो।
 
अभियानकर्मी डा लक्ष्मी पौडेलले वागमती सफाइ महाअभियानमा अधिकारसम्पन्न वागमती समितिसँगै उपत्यकाका स्थानीय तह र वडालाई पनि जिम्मेवार बनाइनुपर्नेमा जोड दिए।

प्रकाशित मिति: १८:४९ बजे, आइतबार, मंसिर ७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्