Kathmandu Press

तनहुँमा जुवाको खालबाट ७२ जना पक्राउ

तनहुँमा जुवाको खालबाट ७२ जना पक्राउ

तनहुँ, मंसिर ७ : प्रहरीले तनहुँका विभिन्न स्थानबाट जुवा खेलिरहेको अवस्थामा ७२ जनालाई पक्राउ गरेको छ।

दशैँदेखि छठसम्म जिल्लाका विभिन्न स्थानबाट उनीहरुलाई जुवा खेलिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, तनहुँले जनाएको छ। जुवा खालबाट कौडा, तास, तन्नालगायतका सामग्री पनि बरामद गरिएको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले बताए।

जिल्लाको डुम्रे, बेलचौतारा, भानु नगरपालिका, व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका, बन्दीपुरलगायतका स्थानबाट उनीहरुलाई पक्राउ गरिएको उनले बताए। यसरी पक्राउ परेका जुवाडेलाई मुद्दा दर्ता गरिसकिए पनि फैसला हुन बाँकी रहेको उनले बताए।

जुवा खेल्ने र खेलाउनेलाई तीन महिनासम्म कैद र रु ३० हजारसम्म जरिवाना वा दुवै हुनसक्ने मुलुकी अपराध ऐन संहिता, २०७४ को  १३२ नंमा उल्लेख गरेको छ। प्रहरीले बरामद गरेका बिगो जफत गर्ने कानूनी व्यवस्था छ।

 

प्रकाशित मिति: १६:४४ बजे, आइतबार, मंसिर ७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्