Kathmandu Press

आज सोनिया र राहुल गान्धीको निर्वाचन क्षेत्रमा चुनाव

नयाँदिल्ली, वैशाख २३ : भारतको तल्लो सदन लोकसभाका लागि सोमबार पाँचौं चरणको मतदान सुरु भएको छ। आज भारतीय कांग्रेस अध्यक्ष राहुल गान्धी र पूर्वअध्यक्ष सो....

आज सोनिया र राहुल गान्धीको निर्वाचन क्षेत्रमा चुनाव
एजेन्सी

नयाँदिल्ली, वैशाख २३ : भारतको तल्लो सदन लोकसभाका लागि सोमबार पाँचौं चरणको मतदान सुरु भएको छ। आज भारतीय कांग्रेस अध्यक्ष राहुल गान्धी र पूर्वअध्यक्ष सोनिया गान्धीको क्षेत्रमा मतदान भइरहेको छ।

आजको चुनावमा सात राज्यका ५१ स्थानका लागि मतदान भइरहेको छ। पाँचौं चरणको यस चुनावमा उत्तर प्रदेशका १४, राजस्थानका १२, पश्चिम बंगाल र मध्यप्रदेशमा सात–सात, बिहारमा पाँच र झारखण्डमा चार स्थानमा मतदान चलेको छ।

जम्मु काश्मिरको लद्दाख तथा अनन्तनागका लागि पुलवामा र शोपियाँ जिल्लामा पनि मतदान हुने कार्यक्रम छ।

Hardik ivf

यस चरणमा उत्तर प्रदेशबाट गृहमन्त्री राजनाथ सिंह, भारतीय राष्ट्रिय कांग्रेसकी नेत्री सोनिया गान्धी, कांग्रेस अध्यक्ष राहुल गान्धी तथा मन्त्री स्मृति इरानीको भाग्यको फैसला हुनेछ।

यस चरणमा ६ सय ७४ उम्मेदवार चुनावी मैदानमा छन्। यस चरणमा करिब नौ करोड मतदाताले मतदान गर्नेछन्।

पाँचौं चरणको यस चुनावमा खासगरी उत्तर प्रदेशका रायबरेली र अमेठीको भिडन्त निकै रोचक मानिएको छ। यी दुवै स्थानमा सोनिया गान्धी र राहुल गान्धीलाई सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)ले टक्कर दिने अनुमान गरिएको छ।

तर उत्तर प्रदेशको राजनीतिमा निकै प्रभावशाली समाजवादी पार्टी र बहुजन समाजवादी पार्टीको गठबन्धनले रायबरेली र अमेठीमा उम्मेदवारी नदिएकाले यी दुवै स्थानमा कांग्रेस नै विजयी हुने अडकलबाजी गरिएका छन्।

यसअघि सन् २०१४ को चुनावमा यी क्षेत्रका कूल ५१ स्थानमध्ये भाजपाले ४० स्थान जितेको थियो भने कांग्रेसले दुई स्थान मात्र जितेको थियो। कांग्रेसले रायबरेली र अमेठीमा मात्र विजय हासिल गरेको थियो।

भारतीय चुनाव आयोगले पाँचौं चरणको चुनावका लागि ९४ हजार मतदान केन्द्र स्थापना गरेको छ। साथै चुनावी हिंसालाई ध्यानमा राखेर सुरक्षा व्यवस्था निकै कडान बनाएको छ।

पाँचौं चरणको मतदान सकिएसँगै लोकसभाका पाँच सय ४२ मध्ये चार सय २४ स्थानका लागि चुनाव समाप्त हुनेछ। बाँकी एक सय १८ स्थानका लागि आगामी मे १२ र १९ मा छैटौं र सातौं चरणमा मतदान हुनेछ।

चुनावको मतगणना भने आगामी मे २३ मा हुनेछ।

प्रकाशित मिति: ११:१३ बजे, सोमबार, वैशाख २३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्