जसले दर्शक तान्छ, उही नामी
काठमाडौं, माघ ८: अहिले अष्ट्रेलियन ओपन चलिरहेको छ । र, चलिरहेको छ– टेनिसमा समान पारिश्रमिकको बहस पनि । टेनिस च्याम्पियन सरिना विलियम्सले समान पा....

काठमाडौं, माघ ८: अहिले अष्ट्रेलियन ओपन चलिरहेको छ । र, चलिरहेको छ– टेनिसमा समान पारिश्रमिकको बहस पनि । टेनिस च्याम्पियन सरिना विलियम्सले समान पारिश्रमिकको माग गरेकी छिन् ।
महिला समकक्षीलाई साथ दिएर पारिश्रमिकमा हुने विभेद अन्त्य गर्न विलियम्सले सबै पुरुष खेलाडीलाई आग्रह पनि गरेकी छिन् ।
अष्ट्रेलियन ओपन, फ्रेञ्च ओपन, विम्बलडन र युएस ओपन– सबै चार प्रमुख टेनिस प्रतियोगितामा महिला र पुरुष विजेतालाई समान पुरस्कार राशी दिइन्छ । तर एसोसिएसन अफ टेनिस प्रोफेसनल्स (एटीपी) र वुमेन्स टेनिस एसोसिएन (डब्ल्युटीए)अन्तर्गतका प्रतियोगिताहरुमा यस्तो हुँदैन ।
‘ओपन एरा’मा सबैभन्दा धेरै ग्रान्ड स्लाम जित्ने कीर्तिमान बनाएकी विलियम्सले सबै खेलाडीलाई समान पारिश्रमिक दिनुपर्ने बताइन् । “वास्तविक परिवर्तन ल्याउन महिला र पुरुषले सँगै काम गर्नु पर्छ,” विलियम्सले भनिन्, “उनीहरुले एउटै सन्देश दिनु पर्छ, एकअर्कालाई सहयोग गर्नु पर्छ ।”
विलियम्सकै प्रयासबाट यो विषयले अष्ट्रेलियन ओपनभरि चर्चा पायो । खेलपछि हुने प्रेस सम्मेलनहरुमा धेरै खेलाडीलाई यसै सन्दर्भमा प्रश्न पनि सोधिएको थियो ।
ग्रिसका स्टेफानोस सिटसिपासबाट चौथो चरणमा पराजित रोजर फेडररले चर्चाको केन्द्रमा हुनेले आफूले पाएको मञ्चको भरपुर सदुपयोग गर्नु पर्ने बताए । “कहिलेकाहीँ पुरुषको खेल केही लोकप्रिय हुनसक्छ र कहिलेकाहीँ महिलाको,” उनले भने, “त्यो क्षणमा जो जति नै लोकप्रिय भएपनि हामीले खेलाडीका रुपमा एकअर्कालाई सधैं सहयोग गर्नुपर्छ ।”
पुरुष एकलतर्फ तोमास बेर्दिखलाई हराउँदै क्वार्टरफाइनल प्रवेश गरेपछि विश्ववरियतामा दोस्रो स्थानमा रहेका राफाईल नाडालको दृष्टिकोण पनि सोधिएको थियो । “उनीहरूले हामीभन्दा धेरै जित्छन् भने पनि मलाई फरक पर्दैन...उनीहरुले हामीभन्दा धेरै टिकट बिक्री गर्छन् भने पारिश्रमिक पनि हामीभन्दा धेरै पाउनुपर्छ,” उनले भने ।
तथ्याङ्कमा पुरस्कार
विम्बलडन सन् २००७ देखि समान पारिश्रमिक दिने अन्तिम प्रमुख टेनिस प्रतियोगिता बन्यो । यसमा भिनस विलिम्यसको ठूलो योगदान छ ।
“विम्बलडनले मेरो च्याम्पियनशीप ट्रफीको मूल्य सन् २००५ को पुरुषतर्फका विजेता रोजर फेडररको ट्रफीभन्दा थोरै राख्ने निर्णय किन गरेको हो ?” उनले प्रश्न उठाएकी थिइन् ।
वर्षाैंपछि युएस ओपन, अष्ट्रेलियन ओपन, रोल्यान्ड ग्यारोस र विम्बलडनले अब महिला र पुरुष विजेतालाई समान पुरस्कार राशी दिन थालेका छन् ।
तर केही प्रतियोगिताहरूमा पुरुष प्रतिस्पर्धाका विजेताहरुले महिला खेलाडीले पाउने राशीभन्दा दोब्बर बढी पाउने गर्छन् ।
मोन्ट्रियलमा भएको रोजर्स कपको महिला प्रतियोगितामा सिमोना हालेपले करिब पाँचलाख अमेरिकी डलरको चेक पाईन् । नाडालले १० लाख अमेरिकी डलरभन्दा धेरै पाए ।
सिन्सिनाटीमा पुरुष प्रतियोगिताको पुरस्कार महिलाले पाउनेभन्दा दोब्बर बढी छ । सन् २०१८ मा सबैभन्दा धेरै पारिश्रमिक पाउने खेलाडीहरूको फोब्र्स सूचीमा कुनै महिला थिएनन् । गर्भवती सरिना विलियम्सले डब्लयुटीए खेलिनन् र मारिया सारापोभा निलम्बनमा परेकी थिईन् ।
विलियम्स यो वर्ष उक्त सूचीमा पर्ने अपेक्षा गरिएको छ । तर उस्तै प्रोफाईल वा एक्सपोजर पाएका अन्य कुनै महिला खेलाडी सो सूचीमा सायदै पर्लान् । सन् २०१७ को फोब्र्स सूचीमा विलियम्स एक्ली महिला थिइन् ।
दर्शकको प्रवृत्ति
टिकट बिक्री र दर्शक संख्या प्रत्येक वर्ष परिवर्तन हुन्छ भन्ने फेडररको तर्कलाई तथ्याङ्कले पनि पुष्टि गर्छ । टेनिसमा केही विशिष्ट खेलाडी र प्रतिद्वन्द्वी हुन्छन्, जसले एरिना र पर्दामा अत्यधिक दर्शक आकर्षित गर्छन् ।
ईएसपीएनले गतवर्ष महिला विम्बलडन फाईनलले पुरुष प्रतिस्पर्धाभन्दा धेरै टेलिभिजन रेटिङ पाएको खुलाएको थियो ।
अघिल्लो वर्ष ईएसपीएनले नै प्रसारण गरेको युएस ओपनको फाइनल खेल सबैभन्दा धेरै हेरिएको थियो । जापानकी नाओमी ओसाकाले विलियम्सलाई हराएको उक्त खेल ३० लाखभन्दा धेरैले हेरेका थिए । पुरुषको फाइनल खेलले करिब २० लाख दर्शक मात्रै आकर्षित गर्यो ।
युएस ओपनजस्ता धेरै प्रतियोगिताहरूमा, पुरुषको तुलनामा महिला प्रतिस्पर्धाको टिकट चाँडै बिक्री हुनु नौलो होइन । यो विलियम्सलगायत केही खेलाडीको लोकप्रियताको प्रमाण हो ।
एन्डी मुर्रेको साथ
एन्डी मुर्रेले सन् २०१९ मा टेनिसबाट सन्यास लिने घोषणा गरे । करिअर अवधिभर लैङ्गिक विभेदको अन्त्य र समानताको पक्षमा गरेको प्रयासका लागि धेरै खेलाडीले मुर्रेलाई धन्यवाद दिए ।
ह्यारियट डार्टविरुद्ध जित हात पारेपछि सारापोभाले सोमबार सञ्चारकर्मीहरूसँग कुरा गरेकी थिइन् । अधिकांश पुरुष खेलाडीले खुलेर समानताको समर्थन नगरे पनि मुर्रे भने अपवाद रहेको उनले बताइन् ।
“पाँच–सातबर्ष अघि विम्बलडनको प्रेस सम्मेलनमा बस्दा, त्यो पक्ष वा दृष्टिकोणबाट त्यति समर्थन थिएन,” उनले भनिन्, “खेलमा केही अपवादहरु पक्कै छन् र मुर्रे तीमध्ये एक हुन् ।”
मुर्रेलाई धेरै महिला खेलाडीले कोर्टभित्र र बाहिर च्याम्पियनको रुपमा प्रशंसा गर्छन् । मुर्रेले वर्षाैंदेखि महिला खेलाडीको उपलब्धिमाथि प्रकाश पार्दै लैंगिक विभेदलाई चुनाति दिदैं आएका छन् ।
“एन्डी मुर्रेको समर्थन नगर्ने महिला खेलाडी सायदै होलान्,” सरिना विलियम्सले भनिन्, “उनले विशेष गरी टेनिसमा महिलाअधिकारको पक्षमा बोलेका छन्...हामी एन्डीलाई माया गर्छौं ।”
(एजेन्सीको सहयोगमा)











