Kathmandu Press

क्रियाशील सदस्यताको विवरण मंसिरभित्रै पठाउन कांग्रेसको निर्देशन

काठमाडौं, मंसिर ५ : नेपाली कांग्रेसले पार्टीको आगामी १४ औँ महाधिवेशनको तयारीका लागि नयाँ क्रियाशील सदस्यता वितरण र नवीकरणको विवरण मंसिरभित्रै केन्द्रमा पठाउन...
क्रियाशील सदस्यताको विवरण मंसिरभित्रै पठाउन कांग्रेसको निर्देशन
कांग्रेस पार्टी कार्यालय।

काठमाडौं, मंसिर ५ : नेपाली कांग्रेसले पार्टीको आगामी १४ औँ महाधिवेशनको तयारीका लागि नयाँ क्रियाशील सदस्यता वितरण र नवीकरणको विवरण मंसिरभित्रै केन्द्रमा पठाउन जिल्ला सभापतिलाई निर्देशन दिएको छ। 

कांग्रेसको गत कात्तिक २८ गतेको केन्द्रीय कार्यसमितिको बैठकले गरेको निर्णयअनुसार क्रियाशील सदस्यता वितरण र नवीकरणसम्बन्धी विवरण केन्द्रमा पठाउन सबै जिल्ला सभापतिलाई मंसिर २ गते निर्देशन गरिएको पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

जिल्ला कार्यसमितिले केन्द्रको परिपत्रको सबै प्रक्रिया पूरा गरेर नामावली सूची प्रकाशन गरी विधानबमोजिम आवश्यक कागजात र तोकिएअनुसारको शुल्कसहित मंसिरभित्र अनिवार्यरुपमा केन्द्रमा पठाउनुपर्नेछ। 

कांग्रेस मुख्य सचिव पौडेलका अनुसार गत फागुन १३ र साउन २२ गते केन्द्रबाट जारी गरिएको क्रियाशील सदस्यता वितरणसम्बन्धी परिपत्रअनुसारको प्रक्रिया पूरा नगरी वितरण गरिएका र केन्द्रमा पठाइएका क्रियाशील सदस्यताको नामावली (नयाँ र नवीकरण) स्वीकृत नहुने भएको छ।

कांग्रेसको नेतृत्व चयनमा महत्वपूर्ण भूमिका रहने क्रियाशील सदस्यता संख्या हाल करिब पाँच लाख छ। कांग्रेस केन्द्रीय समितिको निर्णयअनुसार क्रियाशील सदस्यता वितरण र नवीकरण तथा अन्य पार्टीबाट प्रवेश गरेकालाई समेत प्रदान गर्दा सो सङ्ख्या दोब्बर हुने पार्टी कार्यालयले जनाएको छ। 

कांग्रेसले पार्टीको १४औँ महाधिवेशन आगामी फागुन ७ देखि १० गतेसम्म निर्धारण गरी सोहीअनुसार कार्यतालिका सार्वजनिक गरिसकेको छ। कांग्रेसको १३ औँ महाधिवेशन २०७२ साल फागुन २० देखि २३ गतेसम्ममा काठमाडौंमा भएको थियो।

कांग्रेसका सबै तहका पदाधिकारी तथा सदस्यको पदावधि चार वर्ष हुने विधानमा उल्लेख भए पनि विधानकै अर्को व्यवस्थाअनुसार एक वर्ष समयावधि यसअघि नै थप गरिसकिएको छ। रासस

प्रकाशित मिति: ०१:५४ बजे, शनिबार, मंसिर ६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्