Kathmandu Press

नेपाल र चीनको निकटता झन्–झन् बढ्दै छ : अध्यक्ष तिमिल्सिना

नेपाल र चीनको निकटता झन्–झन् बढ्दै छ : अध्यक्ष तिमिल्सिना

काठमाडौं, मंसिर ५ : राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जुनसुकै सरकार आए पनि नेपालको छिमेकी चीनसितको नीति र सम्बन्धमा कुनै फेरबदल नहुने बताएका छन्। 

स्थानीय एभरेष्ट होटलमा शुक्रबारदेखि शुरु भएको ‘युनान साङ्ग्रिला सांस्कृतिक आदानप्रदान तथा तस्वीर प्रदर्शनी’ शुभारम्भ गर्दै अध्यक्ष तिमिल्सिनाले नेपाल सधैँ एक चीन नीतिमा प्रतिबद्ध रहँदै आएको स्पष्ट पारे। उनले चिनियाँ पर्यटकलाई आकर्षित गर्ने खालका उत्पादन नेपालसँग रहेकाले त्यसको प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए। 

“कोभिड –१९ को महामारी भए पनि दुई देशका जनताबीचको मनको निकटता झन्–झन् बढेको छ”, उनले भने। 

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल र चीनबीच शदियौं पुरानो सम्बन्ध रहेको र साझा विशेषता रहेको बताए। विनाकुनै समस्याका बीच नेपाल र चीनको सम्बन्ध कायम भएको ६५ वर्ष बितेको तथा दुई देशबीचको सम्बन्ध फराकिलो हुँदै गएकामा उनले प्रसन्नता व्यक्त गरे। 

मन्त्री भट्टराईले कोरोना महामारीका कारण नेपालले नेपाल भ्रमण वर्ष २०२०  स्थगन गर्नुपरे पनि अवस्था सहज हुनासाथ नेपालमा चिनियाँ पर्यटकको आगमन बढ्ने आशा व्यक्त गरे। सरकारले घुमफिरको वातावरणलाई सहज बनाउँदै लगेको मन्त्री भट्टराईको भनाइ थियो।

पछिल्लो समय चीनले अघि सारेको बेल्ट एण्ड रोड इनिसियटिभमा नेपालसमेत सहभागी भएको र यसबाट आर्थिक विकास र समृद्धिमा ठूलो टेवा पुग्ने विश्वास उनले व्यक्त गरे। 
 

प्रकाशित मिति: ००:४६ बजे, शनिबार, मंसिर ६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्