Kathmandu Press

वैज्ञानिक ढङ्गबाट फोहोरमैला व्यवस्थापन गर्न माग

ककनी, मंसिर ५ : काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन गर्न निर्माण गरिएको बञ्चरे ल्याण्डफिल साइटका प्रभावित क्षेत्रका बासिन्दाले वैज्ञानिक ढङ्गबाट फोहोरमैला व्यवस्थापन गर्न माग...
वैज्ञानिक ढङ्गबाट फोहोरमैला व्यवस्थापन गर्न माग

ककनी, मंसिर ५ : काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन गर्न निर्माण गरिएको बञ्चरे ल्याण्डफिल साइटका प्रभावित क्षेत्रका बासिन्दाले वैज्ञानिक ढङ्गबाट फोहोरमैला व्यवस्थापन गर्न माग गरेका छन्। स्थानीयवासीले नयाँ बन्दै गरेको बञ्चरेडाँडा दीर्घकालीन स्यानिटरी ल्यान्डफिल साइटलाई वैज्ञानिक ढंगबाट व्यवस्थापन गर्न माग गरेका हुन्। 

फोहोर फालिँदै आएको नुवाकोटको सिसडोल भरिइसकेको छ। नुवाकोटको ककनी गाउँपालिका वडा नं २ र धादिङको धुनिबेंसी नगरपालिका वडा नं २ को बीचमा पर्ने बञ्चरेडाँडालाई दीर्घकालीन स्यानिटरी ल्यान्डफिल साइट बनाउने कार्य अन्तिम चरण पुगेको छ। 

प्रभावित क्षेत्रका बासिन्दाले फोहोरमैला वैज्ञानिक तवरबाट व्यवस्थापन गर्न सरोकार पक्षसँग आग्रह गरेका छन्। सोह्र वर्षदेखि काठमाडौँ, भक्तपुर र ललितपुरको फोहोर सिसडोलमा थुपारिँदै आएको छ। सो अवधिमा काठमाडौँ महानगरपालिकाले १८ बुँदे सम्झौता कार्यान्वयन नगरेर जनस्वास्थ्यलाई प्रतिकूल असर पर्ने गरी अवैज्ञानिक तरिकाबाट फोहोरमैला व्यवस्थापन गरेको स्थानीयवासीको आरोप छ। 

ककनी – ३ का वडाध्यक्ष घननाथ बजगाईँले फोहर र मान्छे एकै ठाउँमा बस्न नसक्ने भएकाले यसलाई वैज्ञानिक तबरबाट उचित व्यवस्थापन गर्नुपर्ने बताए। उनले सम्बन्धित वडा कार्यालयसँग सहकार्य नगरी फोहोर ल्याउने काम भइरहेको आरोप लगाए।

ककनी –२ का वडाध्यक्ष केदार पौडेलले जुन ठाउँमा फोहोर फाल्ने हो, सो क्षेत्रका जनतासँग सम्झौता हुन आवश्यक रहेको धारणा व्यक्त गरे।

ककनी – ३ का श्रीराम ढुङ्गाना प्रभावित १३ गाउँको तीन हजार मिटर अधिग्रहण  गरेर व्यवस्थापन गर्नुपर्ने माग गरे। स्थानीयवासी युवक दिनेश कार्कीले विगतका मागलाई पूरा नगरेसम्म बञ्चरेडाँडामा फोहोर फाल्न नदिइने चेतावनी दिए। स्थानीयवासी रामभक्त बस्नेतका अनुसार सो क्षेत्रमा रोगका कारण मर्नेको गणना भएको छैन। फोहोरका गाडीले किचेर मात्र १९ जनाभन्दा बढीको मृत्यु भइसकेको छ। सो क्षेत्रमा फोहोर फाल्नका लागि पूर्ण रुपमा निषेध गर्न युवाहरु लागिरहेको उनले जानकारी दिए। धादिङ, धुनीबेंसी नगरपालिका वडा नं १ का वडाध्यक्ष चन्द्रबहादुर तामाङले पनि वैज्ञानिक र व्यवस्थित तरिकाले फोहोर व्यवस्थापन नगर्ने हो भने यस क्षेत्रमा फोहोर फाल्न नहुने बताए।

प्रकाशित मिति: २२:०३ बजे, शुक्रबार, मंसिर ५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्