Kathmandu Press

छठको सांस्कृतिक विस्तारले मुलुकलाई एकताबद्ध बनाएको छ : मन्त्री भट्टराई

काठमाडौं, मंसिर ४ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले सूर्योपासनाको पर्व छठ प्रकृति र सभ्यताको अनुपम उदाहरण भएको बताएका छन्। छठका...
छठको सांस्कृतिक विस्तारले मुलुकलाई एकताबद्ध बनाएको छ : मन्त्री भट्टराई

काठमाडौं, मंसिर ४ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले सूर्योपासनाको पर्व छठ प्रकृति र सभ्यताको अनुपम उदाहरण भएको बताएका छन्।

छठका अवसरमा आज शुभकामना व्यक्त गर्दै मन्त्री भट्टराईले मानव अस्तित्वसँग जोडिएको ऊर्जाको सबैभन्दा ठूलो स्रोत सूर्यको आराधना गरेर मनाइने छठको प्रयोगात्मक रुपमा वैज्ञानिक महत्व भएको उल्लेख गरेका हुन्।

मन्त्री भट्टराईले शुभकामना सन्देशमा भनेका छन्, ‘छठ पर्व एउटा समुदाय, एउटा भूगोलविशेषमा मात्र सीमित छैन, विगतमा मुख्य रुपमा तराई–मधेशमा मनाइने छठ पर्व अहिले काठमाडौं उपत्यकालगायत मुलुकका अन्य भूभागमा पनि धुमधामसँग मनाउन थालिएको कारण हाम्रो मौलिक संस्कृतिको आयतन फराकिलो बनेको छ। जातीय, धार्मिक र साम्प्रदायिक विविधता भएको हाम्रो जस्तो मुलुकमा सांस्कृतिक आयतन जति फराकिलो बन्दै जान्छ, त्यसले जात, धर्म र सम्प्रदायबीच आपसी मेलमिलाप र सौहार्दतालाई पनि प्रगाढ र सुमधुर बनाउने छ।’
    
मन्त्री भट्टराईले पर्वको सांस्कृतिक विस्तारले मुलुकलाई झन् एकताबद्ध बनाएको उल्लेख गदै यो एकताले निश्चय नै ‘समृद्ध नेपाल, सुखी नेपाली’ को महाभियानलाई सफल बनाउन ठूलो टेवा मिल्ने विश्वास व्यक्त गरे। उनले सामाजिक सम्बन्ध र सांस्कृतिक सौहार्दताको धरोहर छठले सामूहिक भावनालाई अझ विकसित गर्दै सबैमा एकता, मेलमिलाप र मुलुकको समृद्धिका लागि गोलबद्ध हुन थप प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त  गरेका छन्।

मन्त्री भट्टराईले सूर्यको उपासना गर्दै मनाइने छठ पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, आपसी सद्भाव, एकता र प्रगतिका लागि शुभकामना पनि व्यक्त गरेका छन्।

प्रकाशित मिति: २०:३८ बजे, बिहीबार, मंसिर ४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्