Kathmandu Press

वैदेशिक रोजगारीकाे क्रममा मृत्यु भएको पाँच महिनापछि अन्त्येष्टि

झापा, मंसिर ४ : मेचीनगर नगरपालिका वडा नं १० का ४२ वर्षीय रेवत थापाको वैदेशिक रोजगारीमा मृत्यु भएको पाँच महिनापछि संयुक्त अरब इमिरेट्स...
वैदेशिक रोजगारीकाे क्रममा मृत्यु भएको पाँच महिनापछि अन्त्येष्टि

झापा, मंसिर ४ : मेचीनगर नगरपालिका वडा नं १० का ४२ वर्षीय रेवत थापाको वैदेशिक रोजगारीमा मृत्यु भएको पाँच महिनापछि संयुक्त अरब इमिरेट्स (युएई) मा बुधबार अन्त्येष्टि गरिएको छ।

युएईको उत्तरी शहर रासअल खेमामा गत जेठ १३ गते उनको हृदयाघातबाट मृत्यु भएको थियो। लामो अवधिसम्म अस्पतालमा बेवारिसे रहेको  शवको अन्त्येष्टिका लागि वैदेशिक रोजगारीमा रहेका नेपालीले अर्थ संकलन गरेका थिए।

नेपाली समाज युएईको पहलमा मृतकको अन्त्येष्टि गरिएको जनाइएको छ। यसका लागि मेचीनगरमा रहेकी उनकी छोरी रीतु  र परराष्ट्र मन्त्रालयको कन्सुलर सेवा विभागले लिखित स्वीकृति दिएको युएईमा रहेका सञ्चारकर्मी रामप्रसाद ढुङ्गानाले जानकारी दिए।

वैदेशिक रोजगार विभागमा रहेको विवरणअनुसार थापा गत वर्ष २०१९  नोभेम्बर महिनातिर खेमामा रहेको प्रिमियर प्रोजेक्ट म्यानेजमेन्ट कम्पनीमा काम गर्न गएका थिए। उनले २०१९ को  नोभेम्बर १३ मा ०४५०३३३५० नम्बरको श्रम स्वीकृति लिएका थिए। यसैगरी उनले युनियन लाइफ इन्स्योरेन्स कम्पनीबाट ७६७७०२६९८१ नम्बरको बीमा पोलिसी लिएको पाइएको  । बीमाको म्याद ५ अक्टोबर २०२२ सम्म रहेको सञ्चारकर्मी ढुङ्गानाले बताए।

थापा रास अल खेमाको नखिल भन्ने स्थानमा नेपालीहरुसँग मिलेर कोठा भाडामा बसेको र उनलाई दिउँसो २ बजेतिर कोठामै मृत भेटिएको बताइएको छ। नेपालीहरुसँगसँगै बसे पनि साथीलाई उनले आफ्नो घर ठेगानाबारे खुलाएका थिएनन्। उनको राहदानी पनि लामो समय नभेटिँदा शव धेरै दिनसम्म अस्पतालमा बेवारिसे बनेको थियो।

प्रकाशित मिति: १८:०४ बजे, बिहीबार, मंसिर ४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्