चिसोले हिल्साबाट सदरमुकाम फर्कियो प्रहरी टोली
हुम्ला, मंसिर ४ : नेपाल–चीन सीमा नाका हुम्लाको हिल्सामा खटिएका सुरक्षाकर्मी सदरमुकाम सिमकोट फिर्ता भएका छन् । हुम्लाको मुख्य नाका हिल्साबाट सुरक्षाकर्मीको टोली...
हुम्ला, मंसिर ४ : नेपाल–चीन सीमा नाका हुम्लाको हिल्सामा खटिएका सुरक्षाकर्मी सदरमुकाम सिमकोट फिर्ता भएका छन् । हुम्लाको मुख्य नाका हिल्साबाट सुरक्षाकर्मीको टोली फिर्ता भएको हो।
उत्तरी नाम्खा गाउँपालिकाको हिल्सा प्रहरी चौकीमा कार्यरत प्रहरीको टोली हिमपातपछि चिसो बढेका कारण सिमकोट फिर्ता भएको हो। तापक्रम माइनस डिग्रीमा झरेपछि चिसो बढेसँगै बस्न कठिन भएको भन्दै हिल्सा प्रहरी चौकी सदरमुकाम सिमकोट फिर्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
हिल्सा प्रहरी चौकीका प्रहरी निरीक्षक जङ्गबहादुर आलेको नेतृत्वमा रहेको १४ जनाको टोली मङ्गलबार सदरमुकाम सिमकोट फर्किएको हो। यसअघि सुनखानीमा रहेको प्रहरीचौकी कात्तिक महिनामै सदरमुकाम सिमकोट फर्किएको थियो।
चिसोका कारण सदरमुकाम सिमकोट आइपुगेका प्रहरीचौकी जेठ महिनामा फिर्ता हुनेभएका छन् ।
यस्तै चीनसँग सीमा जोडिएको हिल्सा नाकामा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी) टोली चिसो बढे पनि सीमा सुरक्षामै खटिने भएको छ। सीमा सुरक्षामा खटिएको प्रहरीचौकी हिल्साबाट सदरमुकाम सिमकोट सारिए पनि सशस्त्र प्रहरी निरीक्षक सुरज केसीको नेतृत्वमा रहेका २२ जना उतै बस्ने भएका हुन्।











