नेपालसहित विभिन्न देशमा सहयोग गर्न स्वच्छता कोष उद्घाटन
जेनेभा, मंसिर ३ : नेपाललगायत विभिन्न देशमा सरसफाइ, स्वच्छता, महिनावारी स्वास्थ्य र नयाँ आविष्कारमा सहयोग प्रदान सरसफाइ तथा स्वच्छता कोषको उद्घाटन गरिएको छ।अनलाइनमार्फत...
जेनेभा, मंसिर ३ : नेपाललगायत विभिन्न देशमा सरसफाइ, स्वच्छता, महिनावारी स्वास्थ्य र नयाँ आविष्कारमा सहयोग प्रदान सरसफाइ तथा स्वच्छता कोषको उद्घाटन गरिएको छ।
अनलाइनमार्फत कोष उद्घाटन कार्यक्रममा बोल्दै संयुक्त राष्ट्रसंघकी उपमहासचिव अमीना जे मोहम्मदले सरसफाइ सुविधामा सहज पहुँचका निमित्त सरसफाइ तथा स्वच्छता कोषले लगानी वृद्धि गर्नमा महत्वपूर्ण भूमिका खेल्ने बताएकी छिन्। यसले नयाँ लगानी संयन्त्रको रूपमा सरसफाइको क्षेत्रमा अर्बौं अमेरिकी डलर भित्र्याउने उनको भनाइ थियो।
‘सुरक्षित सरसफाइ र स्वच्छता सर्वप्रथम त यो मानव प्रतिष्ठासँग सम्बन्धित छ र अर्को यो एक स्वास्थ्य समस्या पनि हो,’ उपमहासचिव मोहम्मदले भनिन्, ‘कोरोना महामारीले सरसफाइ र स्वच्छताले विभिन्न रोगहरूको संक्रमण रोक्न सक्छ भन्ने आधारभूत कुरा प्रवाहित गरेको छ, तर यसले सरसफाइ, स्वच्छता र महिनावारी स्वास्थ्यको क्षेत्रमा गहिरो असमानताहरू रहेको कुरा उजागर गरेको छ।’
यो कोषले सबैका लागि सरसफाइ, स्वच्छता र महिनावारी स्वास्थ्यका लागि पाँच वर्षका लागि दुई अर्ब अमेरिकी डलरको अपेक्षा गरेको छ। कार्यक्रममा बोल्दै कोषका कार्यकारी निर्देशक डोमिनिक ओ निलले यसले सकारात्मक र दिगो परिवर्तन ल्याउन मद्दत गर्ने बताए। ‘यो स्वास्थ्य सुधारका लागि संघर्ष मात्र नभएर यो आदर र आधारभूत मानव अधिकारका लागि लडाइँ पनि हो र कलंकको अन्त पनि हो,’ उनले भने।
कार्यक्रममा नाइजेरियाका उपराष्ट्रपति यमी ओसिनपाजोले सरसफाइ र स्वच्छता कोष धेरै कुरामा जीवन रक्षकको रूपमा आएको कुरा बताए। युनिसेफका कार्यकारी अध्यक्ष हेनरिता फोरले सरसफाइ र स्वच्छतालाई बच्चाहरूका लागि महान् बराबरीको रूपमा व्याख्या गरिन्।
अहिले विश्वका आधाभन्दा बढी जनताहरूको सुरक्षित र व्यवस्थित सरसफाइमा पहुँच छैन। ६२ करोड बालबालिकाहरू उपस्थित हुने विद्यालयमा शौचालय छैनन्। तीनमध्ये एक विद्यालयमा आधारभूत सरसफाइ तथा स्वच्छता सेवाहरू र पाँचमध्ये एक स्वास्थ्य सेवा केन्द्रहरूमा कुनै पनि सरसफाइ सुविधा उपलब्ध नभएको तथ्यांक छ।
यस्तो अवस्थामा कोषले महत्वपूर्ण भूमिका निभाउने विश्वास गरिएको छ। यो कोष यूएनओप्सको मातहतमा रहेछ।
यूएनओप्सकी कार्यकारी निर्देशक ग्रीट फोरेमोले उपयुक्त सरसफाइ हरेक व्यक्ति, समुदाय र घरको विकासको मूल भागमा रहेको कुरा जानकारी दिइन्। ‘यूएनओप्स र यसका पूर्वाधारले शिक्षाचाहिँ उपयुक्त सरसफाइ सुविधामा केन्द्रित रहोस् भन्ने निश्चित गर्दछ,’ उनले भनिन्।











