Kathmandu Press

दुई वर्षदेखि रातोढुङ्गा सबस्टेसन अलपत्र

म्याग्दी, मंसिर ३ : म्याग्दीको पश्चिमी क्षेत्रमा केन्द्रीय प्रसारण लाइनको विद्युत् आपूर्तिलाई सहज बनाउन निर्माणाधीन ३३÷११ केभी क्षमताको रातोढुङ्गा सबस्टेसन अलपत्र परेको छ।मालिका...
दुई वर्षदेखि रातोढुङ्गा सबस्टेसन अलपत्र

म्याग्दी, मंसिर ३ : म्याग्दीको पश्चिमी क्षेत्रमा केन्द्रीय प्रसारण लाइनको विद्युत् आपूर्तिलाई सहज बनाउन निर्माणाधीन ३३/११ केभी क्षमताको रातोढुङ्गा सबस्टेसन अलपत्र परेको छ।

मालिका गाउँपालिका–६ रातोढुङ्गामा दुई वर्षअघि नै सम्पन्न हुनुपर्ने सबस्टेसनको ५० प्रतिशत मात्रै काम सकिएको छ। एटुजेड इञ्जीनियरिङले आठ करोडमा ठेक्का लिएको सबस्टेसनमा लकडाउन भएयता काम भएको छैन।

लक्ष्यअनुसार सन् २०१८ को डिसेम्बरमै मिलनचोकबाट रातोढुङ्गासम्म २२ किलोमिटर प्रसारण लाइन र सबस्टेसन बनिसक्नुपर्ने हो। सबस्टेसन निर्माणका लागि छनोट भएको जग्गा अधिग्रहण तथा प्रसारण लाइनको पोल रहने जग्गाको समस्याले ढिलाइ भएको आयोजना प्रमुख बोधराज ढकालले बताए। 'पोल गाड्ने र सबस्टेसनका दुईमध्ये एक भवन बनिसकेको छ। उपकरण खरिद भइसकेको छ,' उनले भने, 'लकडाउन नभएको भए रातोढुङ्गा सबस्टेसन करिब सकिन्थ्यो। घर गएका मजदुरलाई काममा फर्काउन पहल गरिरहेका छौं।'

सबस्टेसन निर्माण गर्न नेपाल विद्युत् प्राधिकरणले पाँच वर्षअघि रातोढुङ्गामा सात रोपनी जग्गा अधिग्रहण गरेको थियो। सबस्टेसन र प्रसारण लाइन निर्माण भएपछि पश्चिमी क्षेत्रको धौलागिरी, मालिका र मङ्गला गाउँपालिकामा केन्द्रीय प्रसारण लाइनको विद्युत् सेवा विस्तारमा सहज हुने मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले बताए।

मिलनचोक सबस्टेसनबाट तीनवटा फिडरबाट लामो दूरीमा विद्युत् आपूर्ति गराउँदा समस्या भएको छ। २० किलोमिटर दूरीसम्म एउटा सबस्टेसनबाट विद्युत् आपूर्ति गराउने मापदण्ड छ। ८० किलोमिटरसम्म वितरण गर्नुपर्दा नियमित विद्युत् आपूर्ति गराउन समस्या भएको नेपाल विद्युत् प्राधिकरण म्याग्दी वितरण केन्द्रका प्रमुख माधव महतले बताए।

पूर्वजानकारीबिनै छिनछिनमा विद्युत् आपूर्ति बन्द हुँदा घरायसी कामदेखि सार्वजनिक सेवा प्रवाह र उद्योग व्यवसायमा असर परेको छ। दैनिक सयौँपटक विद्युत् आपूर्ति बन्द हुँदा उद्योग व्यवसायदेखि घरायसी कामकाज प्रभावित भएको म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष उत्तम कर्माचार्यले बताए।

नेपाल विद्युत् प्राधिकरणले लोडसेडिङ हटेको घोषणा गरे पनि म्याग्दीमा लागू हुन नसकेको उपभोक्ताहरुको गुनासो छ । 'कतिबेला बिजुली आउँछ, कतिबेला जान्छ, अत्तोपत्तो हुँदैन,' बेनीका फर्निचर व्यवसायी कुवीर श्रेष्ठले भने, 'बिजुलीको समस्याले समयमा काम नहुने र लागत बढेको छ।'

विद्युत्को व्यवस्थापनका लागि विकल्पमा जेनेरेटर खरिद गर्नुपरेको एबी बेकरी उद्योगका सञ्चालक विपिन बानियाँले बताए। ग्रामीण क्षेत्रमा महिनौँसम्म विद्युत् आपूर्ति नहुने समस्या छ । लामो दूरीको वितरण लाइन, दरबन्दीअनुसार कर्मचारीको अभाव, भौगोलिक विकटताका कारण नियमित विद्युत् आपूर्ति गराउन नसकेको प्राधिकरणको म्याग्दी वितरण केन्द्रले जनाएको छ।

केन्द्रअन्तर्गत पर्वतको मल्लाजसहित १७ हजार घरधुरी उपभोक्ता छन् । मोदी सबस्टेशनबाट पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङका लागि मिलनचोकसम्म ३३ केभी र मिलनचोकदेखि रत्नेचौर, बेनी र घराप गरी तीनवटा ११ केभीको लाइन छन्। (रासस)

 

प्रकाशित मिति: १६:१२ बजे, बुधबार, मंसिर ३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्