Kathmandu Press

न पड्के पटका, न बजे देउसी गीत

पोखरा, मंसिर १ : विश्वव्यापी फैलिएको कोरोना भाइरसको महामारीका कारण यस वर्ष पोखरा र आसपासका क्षेत्रमा तिहारको रौनकता देखिएन। विगतमा तिहार शुरु भएसँगै परम्परागत...
न पड्के पटका, न बजे देउसी गीत

पोखरा, मंसिर १ : विश्वव्यापी फैलिएको कोरोना भाइरसको महामारीका कारण यस वर्ष पोखरा र आसपासका क्षेत्रमा तिहारको रौनकता देखिएन। 

विगतमा तिहार शुरु भएसँगै परम्परागत पोशाकसहित निस्कने देउसी भैलो खेल्ने समूहका कारण पोखरामा छुट्टै चहलपहल देखिन्थ्यो। यस वर्ष कोरोना महामारी फैलने जोखिमीलाई दृष्टिगत गरी कास्की जिल्ला प्रशासनले देउसी भैलो खेल्नमा रोक समेत लगाएको थियो। 

बढ्दो जोखिमीका कारण सर्वसाधारणमा पनि कोरोनाप्रतिको सजगता देखिएको छ। घरघरमा सामान्य दीपावली गरिए पनि यस वर्ष तिहारको रौनकता नदेखिएको स्थानीय भरतराज पौडेलले बताए। विगतमा लुकीछिपी पड्काइने पटकाका आवाज यस वर्ष सुन्न पनि मुस्किल जस्तै बनेको बताउँदै उहाँले कोरोनाको त्राससँगै जुवा तास खेल्ने क्रममा पनि कमी आएको जानकारी दिए।
    
घरघरमा सर्वसाधारणले सामान्यरूपमा कुकुर, गाई, गोरुको पूजा गर्नुका साथै भाइटीकाको पनि त्यही रूपमा तयारी गरेका छन्। टाढाटाढा रहेका अधिकांश दिदीबहिनी तथा दाजुभाइलाई यस वर्ष कोरोना महामारीका कारण आवतजावत गर्नसमेत असहज भएको भन्दै अर्को वर्ष टीका लगाउने वाचाका साथ आआफ्नै ठाउँमा बस्नु बाध्यता बनेका छ।

फूलमा आत्मनिर्भर बन्दै गएको पोखरामा यस वर्ष कोरोना महामारीका कारण पुष्प व्यवसायीले पनि तिहारलाई अड्कलेर फूल लगाएको यहाँका व्यवसायी बताउँछन्। कोरोना महामारी शुरु भएसँगै गरिएको बन्दाबन्दीका कारण औपचारिक सभा समारोह हुन नसकेपछि लगाइएका फूलको समेत खपत हुन नसकेको भद्रकारी नर्सरीका सञ्चालक प्रेमबहादुर रानाले जानकारी दिए। रासस

प्रकाशित मिति: १७:४२ बजे, सोमबार, मंसिर १, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्