Kathmandu Press

महाकाली अस्पतालमा पीसीआर परीक्षणको तयारी

महेन्द्रनगर, कात्तिक २९ : महाकाली अस्पतालमा पीसीआर मेसिन सञ्चालन तयारी अन्तिम चरणमा पुगेको छ।अस्पतालले प्रयोगशाला निर्माण र जनशक्ति व्यवस्थापन गरी दुई सातापछि मेसिन सञ्चालन...
महाकाली अस्पतालमा पीसीआर परीक्षणको तयारी

महेन्द्रनगर, कात्तिक २९ : महाकाली अस्पतालमा पीसीआर मेसिन सञ्चालन तयारी अन्तिम चरणमा पुगेको छ।

अस्पतालले प्रयोगशाला निर्माण र जनशक्ति व्यवस्थापन गरी दुई सातापछि मेसिन सञ्चालन तयारी अघि बढाएको हो। मेसिन सञ्चालनका लागि चाहिने प्रयोगशाला निर्माण अन्तिम चरणमा पुगेको छ। प्राविधिक जनशक्ति व्यवस्थापनको कार्य पूरा गरिएको छ। मेसिन सञ्चालनका लागि प्रयोगशाला प्राविधिकको टोलीलाई तालिमका लागि पठाउन लागिएको छ।

सुदूरपश्चिम प्रदेश सरकारको स्वास्थ्य निर्देशनालयसित समन्वय गरी प्राविधिकलाई १५ दिनको तालिमका लागि पठाउन लागिएको हो। “ल्याबको काम अन्तिम चरण आइ सकेको छ, मङ्सिर ११ गतेसम्म सबै कार्य पूरा गर्ने भनिएको छ, त्यसपछि मङ्सिर १५ गतेदेखि मेसिन सञ्चालन गरी परीक्षण शुरु गर्छौ”, महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीले भने, “मेसिन चलाउने जनशक्ति व्यवस्थापन भई सकेको छ, उहाँहरुलाई मङ्सिर ३ गते १५ दिने तालिमका लागि पठाइ रहेका छौँ।”

पीसीआर प्रयोगशाला सञ्चालनका लागि १२ जना कर्मचारी नियुक्त गरिएका छन्। त्यसमा बिएमएलटी चार, माइक्रो बायलोजिष्ट एक, ल्याब टेक्नेसियन दुई र चार जना स्वीपरलगायत छन्। भीमदत्त नगरपालिकाले कोरोना परीक्षणको दायरा बढाउन मेसिन खरिद गरी अस्पतालाई गत महिना हस्तान्तरण गरको छ।

नगरपालिकाले अस्पतालसहित सरोकारवाला निकायसित समन्वय गरी ३८ लाखमा मेसिन खरिद गरेको थियो। मेसिन सञ्चालनका लागि चाहिने दैनिक खर्च व्यवस्थापनका लागि जिल्ला समन्वय समितिका संयोजक फैरु तामाङको संयोजकत्वमा आर्थिक समिति गठन गरी कार्य अघि बढाइएको छ । 

कञ्चनपुरका सबै जनप्रतिनिधि र स्थानीय सरकारले मेसिन सञ्चालनमा सहयोग गर्ने प्रतिबद्धता गरी सकेका छन्। भीमदत्त नगरपालिकाले महाकाली अस्पताल, जिल्ला समन्वय समिति र सुदूरपश्चिम प्रदेशका सदस्यहरुसित समन्वय गरी मेसिन खरिद गरेको थियो। अस्पतालले पिसिआर प्रयोगशाला बनाउन क्यबिनेट, बायोसेफ्टी क्याबिनेट, डि–फ्रिज र माइक्रोसेन्टिफ्युज लगायतका ८२ लाखकोे उपकरण खरिद गरी सकेको छ। रासस

प्रकाशित मिति: १७:१८ बजे, शनिबार, कात्तिक २९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्