Kathmandu Press

स्वास्थ्य मापदण्ड बनाएर चिडियाखाना खोलिँदै

काठमाडौं कात्तिक २७ : गत चैतदेखि बन्द रहेको जावलाखेलस्थित सदर चिडियाखाना स्वास्थ्य मापदण्ड पूरा गरी खोल्ने तयारी भएको छ। विश्वभर फैलिएको कोभिड–१९का कारण...
स्वास्थ्य मापदण्ड बनाएर चिडियाखाना खोलिँदै

काठमाडौं कात्तिक २७ : गत चैतदेखि बन्द रहेको जावलाखेलस्थित सदर चिडियाखाना स्वास्थ्य मापदण्ड पूरा गरी खोल्ने तयारी भएको छ। विश्वभर फैलिएको कोभिड–१९का कारण गत चैत ७ गतेदेखि अवलोकनका लागि पूर्ण रुपमा चिडियाखानाका बन्द गरिएको थियो। लामो समयसम्म बन्द रहँदा जीव जनावरको खानपान र कर्मचारी व्यवस्थापन गर्न समस्या भएकाले खोल्न लागिएको चिडियाखाना व्यवस्थापन प्रमुख डा चिरञ्जिवीप्रसाद पोखरेलले जानकारी दिए।

पोखरेलले भने, ‘कोरोनाभाइरस सङ्क्रमण कम भएको छैन, त्रास केही कम भएको हो, अबको केही दिनमा खोलिन्छ ,त्यसका लागि मापदण्ड पनि तयारी अवस्थामा छ।’ मास्क अनिवार्य ल्याउनुपर्ने, एक पटकमा ८०० मानिसलाई मात्र अवलोकन गर्न दिने, चिडियाखानाभित्र बसेर खान र जीवजनावरलाई खुवाउन छुन नपाउने, एक व्यक्ति बढीमा डेड घण्टा मात्र बस्न पाउने, बालबालिकालाई खेलाउन नपाउनेजस्ता मापदण्ड तयार गरिएको छ।

यसअघि झै हरेक दिन बिहान १० देखि साँझ ५ बजेसम्म अवलोकनका लागि सञ्चालन हुने गरी नै मापलण्ड तयार गरिएको छ। हाल चिडियाखानामा ११० प्रजातिका एक हजार ६८ वटा जीव जनावर रहेको छ। जहाँ मुख्य आकर्षणको रुपमा बाघ, भालु, चितुवा, रेड पाण्डा रहेका छन्।  

ती प्रजातिमध्ये ३३ स्थनधारी, ६१ चरा, आठ उभयचर र १७ प्रजातिका माछा छन्। नेपालमा लोप हुन लागेको भनी सूचीकृत ३८ दुर्लभ वन्यजन्तुमध्ये १५ लाई चिडियाखानाले संरक्षण गरी प्रदर्शनीमा राखेको छ। अवलोकनका लागि विदेशीका लागि ७५० रुपैयाँ, सार्क राष्ट्रका पाहुनाका लागि ५०० रुपैयाँ, नेपालीलाई १५० रुपैयाँ र नेपाली विद्यार्थी र ज्येष्ठ नागरिकका लागि ९० रुपैयाँ शुल्क निर्धारण गरेको छ। वार्षिक ११ लाख दर्शक अवलोकन गर्न आउने यहाँ प्रवेश शुल्कबाट नै वार्षिक १५ देखि १६ करोड रुपैयाँसम्मको आर्थिक कारोवार हुने गरेको छ। 

प्रकाशित मिति: २०:३७ बजे, बिहीबार, कात्तिक २७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्