सुदूरपश्चिममा कोरोनाबाट २९ संक्रमितको मृत्यु
धनगढी, कात्तिक २७ : सुदूरपश्चिममा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्दै गएको छ। प्रदेशको सामाजिक विकास मन्त्रालयको तथ्याङ्कअनुसार गत १० दिनमा ६...
धनगढी, कात्तिक २७ : सुदूरपश्चिममा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्दै गएको छ। प्रदेशको सामाजिक विकास मन्त्रालयको तथ्याङ्कअनुसार गत १० दिनमा ६ जनाको मृत्यु भएको छ।
सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत कञ्चनपुर जिल्लाका ६२ वर्षीय बृद्धको बुधबार मृत्यु भएपछि प्रदेशमा कोभिड–१९ बाट मृत्यु हुनेको सङ्ख्या २९ पुगेको छ। होम आइसोलेसनमै मृत्यु हुने कतिपय सङ्क्रमितको तथ्याङ्क भने मन्त्रालयसँग छैन।
जाडोयाम शुरु भएसँगै जटिल अवस्थाका कोरोना सङ्क्रमित बिरामी बढ्दै गएका छन्। तोकिएको स्वास्थ्य सुरक्षाका मापदण्ड नअपनाई सर्वसाधारणको चहलपहल बढ्दा कोरोना फैलिने जोखिम थप बढेको स्वास्थ्यकर्मीको भनाइ छ।
मन्त्रालयको तथ्याङ्कअनुसार, बिहीबार बिहानसम्म प्रदेशमा कुल सङ्क्रमणको पुष्टि भएका १० हजार दुई सय ६९ जनामध्ये आठ हजार सात सय आठ जना उपचार व्यवस्थापनपछि घर फर्केका छन्।
कोरोनाका शङ्कास्पद एक लाख ११ हजार दुई सय सात जनाको कोरोना परीक्षण गरिएको छ। बिरामी बढ्दै गएपछि प्रदेश सरकारले कोभिड अस्थायी अस्पताल धनगढीमा थप शय्याको व्यवस्थापनको तयारी गरिरहेको छ।
सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले सेती प्रादेशिक अस्पतालअन्तर्गतको कोभिड अस्थायी अस्पतालमा शय्या थप्ने काम अघि बढेको बताए। अस्पतालमा कोभिड–१९ का बिरामीका लागि ५० शय्याको व्यवस्था गरिएकामा पछिल्ला दिनमा पूरै शय्या भरिएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताए।
प्रदेशका अन्य जिल्लामा रहेका अस्पतालमा आइसीयू र भेन्टिलेटरको व्यवस्था पर्याप्त नहुँदा जटिल अवस्थाका कोरोना सङ्क्रमितलाई सेती प्रादेशिक अस्पतालमा ल्याउने गरिएको छ।
स्वास्थ्य निर्देशनालय दिपायलका निर्देशक डा. गुणराज अवस्थी चिसो मौसममा कोरोना सङ्क्रमणदर गर्मी मौसमको भन्दा बढ्न सक्ने जोखिम रहेको बताउँछन्। 'चिसो बढ्ने भएकाले कोभिड–१९ जस्तो लक्षण बढी व्यक्तिमा देखिन सक्छ,' डा. अवस्थीले भने, 'लक्षण देखिएपछि एक हप्ता आफ्नै घरको छुट्टै कोठामा वा आइसोलेसनमा बसेर एक हप्तापछि मात्र नमूना परीक्षण गराउनुपर्छ।' (रासस)











