हुलाक सेवालाई युग सुहाउँदो बनाउन जरुरी : सञ्चारमन्त्री गुरुङ
काठमाडौं, कात्तिक २६ : सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले हुलाक सेवालाई युग सुहाउँदो बनाउन जरुरी रहेको बताएका छन्।सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री...
काठमाडौं, कात्तिक २६ : सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले हुलाक सेवालाई युग सुहाउँदो बनाउन जरुरी रहेको बताएका छन्।
सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री गुरुङले प्राचीन समयमा सञ्चारको एक मात्रै विश्वसनीय माध्यमको रुपमा रहेको हुलाक सेवालाई बदलिँदो परिवेश अनुसार अघि बढाउन नयाँ सोचका साथ अघि बढ्नु पर्ने बताएका हुन्।
बुधबार सिंहदरबारस्थित सञ्चार मन्त्रालयको हलमा आयोजित हुलाक सेवा विभागका पदाधिकारीहरुसँगको अन्तर्क्रियामा उनले हुलाक सेवालाई विश्वसनीय र भरपर्दो बनाउन सरोकारवाला पक्षहरुसँग आवश्यक छलफल गरी अघि बढने पनि स्पष्ट पारे। त्यसका लागि नयाँ सोचसहितको कार्ययोजना लिएर आउन विभागका पदाधिकारीहरुलाई मन्त्री गुरुङले आग्रह गरे।
‘हुलाक सेवा प्राचीन समयको सबैभन्दा भरपर्दो सञ्चार माध्यम हो,’ मन्त्री गुरुङले भने,‘यसको सेवालाई बदलिँदो राष्ट्रिय÷अन्तर्राष्ट्रिय परिवेश अनुसार भरपर्दो र विश्वसनीय बनाउन आवश्यक छ।’ उनले हुलाक सेवाको महत्व विकसित मुलुकहरुमा झनै हुने गरेको उल्लेख गर्दै यसको सेवालाई छिटो, छरितो र भरपर्दो बनाउन हुलाक सेवा विभागलाई निर्देशन दिए।
उनले हुलाक सेवालाई युग सुहाउँदो बनाउन आवश्यक भौतिक पूर्वाधार, मानव संशाधनको विकासमा जोड दिनुुपर्ने पनि स्पष्ट पारे। मन्त्री गुरुङले नेपालमा हुलाक सेवा कमजोर हुँदै गएकोमा चिन्ता व्यक्त गर्दै त्यसको सुधारका लागि नयाँ रणनीतिक योजनाका साथ अघि बढ्ने संकल्प गरे। उनले निजी क्षेत्रबाट सञ्चालित कार्गो सर्भिसलाई व्यवस्थित बनाउन लागि पर्ने बताए।











