Kathmandu Press

कोरोना खोप : हामीले कहिले लगाउन पाउँछौं?

काेराेना भाइरसविरुद्धकाे फाइजर खोपबारे धेरै कुरा स्पष्ट भएका छैनन्। यसबारे थोरै जानकारी मात्रै बाहिर आएका छन्, जुन यस्ता छन्।
कोरोना खोप : हामीले कहिले लगाउन पाउँछौं?

भक्तपुर, कात्तिक २५ : अमेरिकी औषधि उत्पादन कम्पनी फाइजरले सोमबार कोरोना भाइरसविरूद्धको भ्याक्सिन परीक्षण सफल भएको घोषणा गरेसँगै संसारभर खुशीको सञ्चार भएको छ। योसँगै खोप वितरण गर्दा कस्तो बर्गलाई प्राथमिकतामा राख्ने भन्ने प्रश्न उठ्न थालेको छ।

जर्मनको कम्पनी बाइअनटेकसँग मिलेर गरेको परीक्षणका क्रममा यो भ्याक्सिन ९० प्रतिशत प्रभावकारी भएको फाइजरले जनाएको छ। र, यसको उत्पादन पनि सुरु भएको छ।

काेराेनाविरुद्धकाे फाइजर खोपबारे धेरै कुरा स्पष्ट भएका छैनन्। यसबारे थोरै जानकारी बाहिर आएका छन्, जुन यस्ता छन्।

Hardik ivf

नयाँ खोप के हो र यो कत्तिको प्रभावकारी छ?

फाइजर खोपले शरीरमा रहेको रोग प्रतिरोधात्मक क्षमतालाई कोरोना भाइरसविरुद्ध लड्न तालिम दिने अर्थात सक्षम बनाउने गर्छ। यसलाई आरएनए भ्याक्सिन पनि भनिन्छ।

सुरुमा यो खोपले शरीरमा नयाँ भाइरस बनाउँछ। खोपले बनाएको भाइरसलाई शरीरमा रहेको रोग प्रतिरोधात्मक क्षमताले आक्रमण गर्छ। यसरी नै अन्य भाइरसलाई रोक्ने क्रममा रोग प्रतिरोधात्मक क्षमता पनि बृद्धि हुँदै जान्छ। यो खोप तीन हप्ताको अन्तरालमा दुई पटक दिइनेछ।

आरएनए खोप यसभन्दा अघि मानिसहरुमा प्रयोग गरिएको थिएन। अहिले बनेको नयाँ खोप परीक्षणमा सफल भएपनि अब यसलाई विश्वभरका खोप नियामक एजेन्सीहरूले स्वीकृति दिएपछि मात्र वितरण गर्न पाईनेछ।

कुन बर्गलाई प्राथमिकतामा राखिनेछ?

बेलायतमा बृद्ध आश्रममा रहेको बृद्धबृद्धा र केयर होम स्टाफहरुलाई खोप वितरणको प्राथमिकतामा राखिएको छ। बृद्धबृद्धामा कोरोनाको जाखिम उच्च हुने भएकाले उनीहरुलाई प्राथमिकतामा राखिएको हो।

यस्तै स्वास्थ्यकर्मी तथा अस्पतालका कर्मचारीहरुलाई पनि खोप वितरणको प्राथमिकतामा राखिएको छ।

त्यसपछि दोस्रो सूचिमा ५० वर्षभन्दा कम उमेर समूहका मानिसहरुलाई फाइजर खोप दिईनेछ। सबै कुरा सरल रुपमा गयो भने खोपको पहिलो डोज क्रिसमसभन्दा अघि नै वितरण गरिने कम्पनीको भनाइ छ।

तर, यो खोप भण्डारण गर्न सजिलो छैन। अझ नेपालजस्ता गरिब देशलाई त सकस नै हुनेछ। यो खोप भण्डारण कम्तिमा पनि माइनस ८० डिग्री सेल्सियस तापक्रम हुनुपर्ने भएकाले निकै चुनौतिपूर्ण रहेको छ।

के यसले स्थायी सुरक्षा प्रदान गर्छ?

फाइजर खोपले स्थायी रुपमा कोभिड–१९ विरुद्ध सुरक्षा प्रदान गर्छ वा गर्दैन भन्ने अहिलेसम्म एकीन भएको छैन। यदि हाम्रो शरीरको रोग प्रतिरोधात्मक क्षमता कम छ भने मौसमी फ्लुका लागि जस्तै यसका लागि पनि प्रत्येक वर्ष खोप लिनुपर्ने हुनसक्छ।

अहिलेसम्म खोपले सबै उमेर समूहका मानिसमा समान असर गर्छ भन्ने कुरा पनि स्पष्ट नभएको हुँदा यसले स्थायी सुरक्षा दिने कुरामा अन्योलता नै छ।

यो खोपले स्वास्थ्यमा दिर्घकालीन प्रभावहरू पार्नसक्छ?

कुनै पनि औषधि सत प्रतिशत सुरक्षित हुँदैन। ४३ हजार पाँच सय जनामा गरिएको फाइजर खोप परीक्षणमा कसैले पनि सुरक्षाको चिन्ता व्यक्त गरेको थिएन। तर, खोप लिईसकेका केही मानिसहरुमा भने यसको साइड इफेक्टहरु देखिएको थियो।

आगामि दिनहरुमा यस खोपको वितरण गर्न स्वीकृति प्राप्त भएको खण्डमा लाखौं मानिसहरुलाई खोप दिँदा केही मानिसमा भने यसले साइड इफेक्ट गर्नसक्ने अनुमान गरिएको छ।

के यसको मतलब हामीलाई लकडाउन आवश्यक छैन?

खोप वितरण सुरु भईसकेपछि लकडाउन गर्न नपर्ने आशा राखिएको छ। यदि पर्याप्त मानिसहरुमा प्रतिरक्षा प्रणालीको विकास गरी भाइरसलाई फैलनबाट रोक्न सकिने हो भने कोरोना भाइरस नियन्त्रणका अन्य विकल्पहरु खोज्न जरुरी हुँदैन।

तर, विश्वभर पर्याप्त खोप बनाउने काम निकै चुनौतिपूर्ण रहेको हुँदा यसका लागि अझै केही समय लाग्ने अनुसन्धानकर्ताहरु बताउँछन्।

तसर्थ अझै केही समय दूरी कायम गर्ने, मास्क लगाउने, स्यानिटाइजरको प्रयोग गर्नेलगायतका कार्यहरुलाई निरन्तरता दिनुपर्नेछ।

यदि भाइरस परिवर्तन भयो भने के हुन्छ?

हालसम्मकै अवस्था हेर्दा भाइरस परिवर्तन हुने कुनै संकेत छैन। तर, भविष्यमा भाइरस परिवर्तन हुनसक्ने र यसका कारण यो खोप कम प्रभावकारी हुनसक्ने सम्भावना छ।

यदि भाइरस परिवर्तन भएको खण्डमा फेरि नयाँ खोप बनाउनु पर्नेहुन्छ। तर, आरएनए खोपलाई सजिलैसँग नयाँ ढाँचामा विकास गर्न सकिने भएकाले यो ठूलो समस्या नभएको अनुसन्धानकर्ताहरुको तर्क छ।

फाइजर र बाइअनटेकद्वारा विकास गरिएको खोप आगामि वर्ष सन् २०२१ को अन्तिमसम्म एक अर्बभन्दा बढी उत्पादन गर्ने लक्ष्य लिएको छ। तर, उत्पादन क्षमता बढाउन अन्य कम्पनीहरुसँग पनि साझेदारी गर्न जरुरी रहेको विज्ञहरु सुझाउँछन्।

हामीले यो खोपबारे के थाहा पाउनु पर्छ?

अहिले कोरोनाविरुद्धको खोप बनेको विषय विभिन्न मिडियाको हेडलाईन बनेको भएपनि पर्याप्त जानकारी भने प्राप्त भएको छैन। यो खोपले बिरामी हुनबाट रोक्छ वा भाइरसलाई नै मार्छ भन्ने विषय पनि स्पष्ट भएको छैन।

साथै यो खोपले कुन उमेर समूहमा कस्तो प्रभाव पार्छ भन्ने कुराहरु स्पष्ट नभएको हुँदा सबैले सावधानी अपनाउन जरुरी छ। तर, यसले कोरोनाका लागि बन्दै गरेका अन्य खोप बनाउन भने होसला दिएको छ।

यसभन्दा अघि कोरोनाको खोप बन्न सकिने आधारहरु कम थिए। अहिले एक दर्जनभन्दा बढी खोपहरु परीक्षणको अन्तिम चारणमा पुगेका छन्।

 

प्रकाशित मिति: २०:४० बजे, मंगलबार, कात्तिक २५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्