Kathmandu Press

आन्तरिक उडानमा उत्साह, अन्तर्राष्ट्रिय उडान बढेन

काठमाडौं, कात्तिक २४ :  कोभिड–१९ महामारीका कारण ६ महिनापछि सुरु भएको मुलुकको हवाई उडान आन्तरिकतर्फ उत्साहजनक रहेपनि अन्तर्राष्ट्रिय उडान बढ्न सकेको छैन।कोभिड महामारीको...
आन्तरिक उडानमा उत्साह, अन्तर्राष्ट्रिय उडान बढेन

काठमाडौं, कात्तिक २४ :  कोभिड–१९ महामारीका कारण ६ महिनापछि सुरु भएको मुलुकको हवाई उडान आन्तरिकतर्फ उत्साहजनक रहेपनि अन्तर्राष्ट्रिय उडान बढ्न सकेको छैन।

कोभिड महामारीको बढिरहे पनि दशैँ, तिहार, छठलगायत पर्वले आन्तरिक उडानमा यात्रुको सङ्ख्या सन्तोषजनक रहेको छ । गत भदौ १६ देखि नियमित अन्तर्राष्ट्रिय उडान शुरु भए पनि अहिलेसम्म उडान सङ्ख्या बढ्न सकेको छैन।
     
अन्तर्राष्ट्रिय उडान हुने कतिपय गन्तव्यमा सम्बन्धित मुलुकले उडान प्रतिबन्धका साथै नेपाल आउने भारतलगायत केही गन्तव्यको उडान स्थगित रहेकाले पनि अन्तर्राष्ट्रिय उडान बढ्न नसकेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ। विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले अहिले आन्तरिकतर्फ ७० देखि ८० प्रतिशत र अन्तर्राष्ट्रिय उडानमा २० प्रतिशत मात्र उडान भइरहेको छ। उनले आन्तरिक उडान उत्साहजनक नै रहेपनि अन्तर्राष्ट्रिय उडान भने बढ्न नसकेको बताए।
     
आन्तरिक उडानका एयरलाइन्सले पनि आफ्नो उडान ‘अकुपेन्सी’ राम्रो रहेको र महत्वपूर्ण चाडपर्वले गर्दा पनि उडान उत्साहबद्र्धक रहेको बताएका छन्। निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयर, यती एयर, श्री एयरलगायत कम्पनीको उडान अकुपेन्सी सन्तोषजनक रहेको छ।
     
बुद्ध एयरले दशैँयता आफ्नो उडानमा करिब ९० प्रतिशत अकुपेन्सी रहेको र यो सङ्ख्या क्रमशः बढ्दै जाने विश्वास लिएको छ। कम्पनीले अहिले दैनिक तीन हजार ५०० यात्रु उडाउँदै आएको छ । यता यती एयरलाइन्सको पनि उडान अकुपेन्सी ८५ देखि ९० प्रतिशत रहेको छ। यती एयरलाइन्सका हवाई सुरक्षा प्रमुख तथा प्रवक्ता सुदर्शन बर्तौलाले आन्तरिक उडानमा चाड पर्वले गर्दा पनि अहिले उत्साहबद्र्धक रहेको छ।
     
हवाई उडानको भाडादर पनि सस्तो भएकाले धेरै मानिसले जहाज चढिरहेका छन्। महामारीकाबीच लामो यात्रामा सङ्क्रिमत हुने खतरा रहेकाले यात्रुको पहिलो रोजाइ जहाज हुने गरेको छ। तुलनात्मक रुपमा जोखिम कम हुने भएकाले पनि हवाई उडानको आकर्षण बढेको हो। आन्तरिक उडानका यात्रु विभिन्न गन्तव्यमा जान थालेपछि यात्रुको सङ्ख्या बढेको छ। 

अहिले पर्यटनको महत्वपूर्ण समय पनि भएकाले पारिवारिक, समूहगत तथा व्यक्तिगत रुपमा पनि धेरै सङ्ख्यामा आन्तरिक पर्यटक विभिन्न गन्तव्य पुग्ने गरेकाले हवाई कम्पनीलाई राहत मिलेको छ। यतिबेला पदयात्रा, पर्वतारोहणका साथै विभिन्न क्षेत्रमा घुमफिरका लागि धेरै सङ्ख्यामा पर्यटक निस्केका छन्। पछिल्लो समय नेपालमा कोभिड महामारीको सङ्क्रमण दर उच्च रहेको छ। वायुसेवा प्रदायक कम्पनीले महामारीबाट बचेर सुरक्षित उडानका लागि स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै सुरक्षित उडान सञ्चालन गरिरहेका छन्।
     
नेपाल सरकार तथा विश्व स्वास्थ्य सङ्गठनको स्वास्थ्य मापदण्डलाई आत्मसाथ गरी यात्रुको सुरक्षाका लागि आवश्यक प्रक्रिया अपनाएर सेवा सञ्चालन गरिएको कम्पनीले जनाएका छन्। आन्तरिकतर्फ १० हेलिकोप्टरसहित १९ वायुसेवा कम्पनीले उडान भर्दै आएका छन्। अन्तर्राष्ट्रियमा तीन नेपालीसहित ३० वायुसेवा कम्पनीले उडान गर्छन्। रासस

प्रकाशित मिति: २१:४० बजे, सोमबार, कात्तिक २४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्