Kathmandu Press

सुस्तामा पहिलो पटक बिजुलीको पहुँच

परासी, कात्तिक २४ : सुस्तामा पहिलो पटक विद्युत्को पहुँच पुगेको छ। पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित नारायणी नदीपारि पर्ने विकट क्षेत्र बहुचर्चित नेपाली भूमि...
सुस्तामा पहिलो पटक बिजुलीको पहुँच

परासी, कात्तिक २४ : सुस्तामा पहिलो पटक विद्युत्को पहुँच पुगेको छ। 

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित नारायणी नदीपारि पर्ने विकट क्षेत्र बहुचर्चित नेपाली भूमि सुस्तामा सौर्य मिनीग्रिड प्लाण्ट निर्माण गरी बिजुलीको पहुँचमा पु¥याइएको हो। बिजुलीको पहुँच पुगेपछि स्थानीयवासीमा खुशीयाली छाएको छ। 

नारायणी नदीका कारण राष्ट्रिय प्रसारणलाइन लैजान असहज हुँदा वर्षौँदेखि सुस्तावासी अन्धकारमा बस्दै आएका थिए। टुकीको भरमा जीवन बिताउँदै आएका स्थानीयवासीको समस्यालाई मध्यनजर गर्दै सरकारले सौर्य प्लान्टमार्फत बिजुलीको व्यवस्था गरेको हो। ग्रिड निर्माण सम्पन्न भइसकेकाले अब घर घरमा बिजुली बाल्न मात्र बाँकी रहेको सुस्ता गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले जानकारी दिए। 

बिजुली बाल्न अहिले घर घरमा तार जडान गरिएको छ। टपसन इनर्जी प्रालीले निर्माणको जिम्मा पाएको उक्त सौर्य ग्रिडको एकवर्ष अघि ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले शिलान्यास गरेका थिए।

कूल चार करोड ८० लाख ९२ हजार २६८ रुपैयाँमा निर्माण गरिएको ग्रिडमा ६० प्रतिशत अर्थात दुई करोड ८८ लाख ५५ हजार ३६१ रुपैयाँ वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको अनुदान छ भने तराई–मधेस समृद्धि कार्यक्रमको एक करोड ७५ लाख रुपैयाँ र सुस्ता गाउँपालिकाको १७ लाख ३६ हजार ९०७ रुपैयाँ लगानी रहेको छ। 

तिहारअघि नै सुस्तालाई झिलिमिली बनाउने गरी सौर्य ग्रिडको उद्घाटन गर्ने तयारी गरिएको गाउँपालिका अध्यक्ष पाण्डेले बताए। ‘दशैँ अघि नै उद्घाटन गर्ने तयारी थियो, तर वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण भएपछि प्रभावित हुन पुग्यो, अब लक्ष्मीपूजा अघि नै सुस्तामा झिलिमिली बत्ती बल्ने गरी उद्घाटन गर्छौँ,’ उनले भने।

प्रधानमन्त्री केपी शर्मा ओलीले यहाँ निर्माण भएको सौर्य ग्रिडको विशेष चासो राखेकोले उनीबाटै भर्चुअल माध्यमबाट उद्घाटन गर्ने तयारी गरिएको अध्यक्ष पाण्डेले बताए। सय किलोबाट क्षमताको सो आयोजनाबाट सुस्ताका २६६ घरधुरी लाभान्वित हुनेछन्। अब सुस्तावासीले सौर्य ऊर्जाको माध्यमबाट घर घरमा विद्युत् सेवा उपभोग गर्न पाउनुका साथै स–साना उद्योग पनि सञ्चालन गर्न सक्ने उल्लेख गर्दै गाउँपालिका अध्यक्ष पाण्डेले भने, ‘अब सुस्तावासीलाई धेरै सहज हुन्छ, अन्धकारमा बस्नुपर्ने अवस्थाको अन्त्य हुँदैछ।’

बिजुलीको अभावमा सुस्तावासीले गर्मी मौसममा पङ्खा चलाउन, अध्यारोमा हिँडडुल गर्दा सर्पदंशको समस्या भोग्नुका साथै तरकारी तथा अन्नबालीमा सिँचाइ गर्नबाट पनि वञ्चित थिए। 

प्रकाशित मिति: २०:०२ बजे, सोमबार, कात्तिक २४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्