Kathmandu Press

मोटरसाइकल चोरी गर्ने सात युवक पक्राउ

चितवन, कात्तिक २४ : चितवनका विभिन्न ठाउँमा मोटरसाइकल चोरी गर्ने र खरिद गर्ने सात जनालाई प्रहरीले पक्राउ गरेको छ।मोटरसाइकल चोरी भएको उजुरी परेपछि...
मोटरसाइकल चोरी गर्ने सात युवक पक्राउ

चितवन, कात्तिक २४ : चितवनका विभिन्न ठाउँमा मोटरसाइकल चोरी गर्ने र खरिद गर्ने सात जनालाई प्रहरीले पक्राउ गरेको छ।

मोटरसाइकल चोरी भएको उजुरी परेपछि प्रहरीले सक्रियता बढाउँदा चोरीमा संलग्न र चोरीका मोटरसाइकल खरिद गर्नेलाई प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पक्राउ पर्नेमा बाराको करैयामाई नगरपालिका–५ घर भई हाल खैरहनी नगरपालिका–९ बस्ने २८ वर्षीय विजय चौधरी, सोही ठाउँ घर भई भरतपुर महानगरपालिका–३ बस्ने १९ वर्षीय राकेश चौधरी र बाराको कोल्हवी नगरपालिका–७ का २४ वर्षीय महेश चौधरी रहेका छन्।

यस्तै मोटरसाइकल चोरी गर्नेमा भरतपुर महानगरपालिका–११ का २६ वर्षीय दिनेश गुरुङ र २५ वर्षीय मनोज दराई रहेका छन्। चोरीका मोटरसाइकल खरिद गर्ने खैरहनी नगरपालिका–१२ का २४ वर्षीय समीर चौधरी र २८ वर्षीय अमृत चौधरीलाई पनि प्रहरीले पक्राउ गरेको छ।

विभिन्न समयमा भाटभटेनी सुपर स्टोर अगाडि, कटहर चोक, नहरचोक, पावरहाउस चोक, विक्रममार्ग लगायतका स्थानबाट मोटरसाइकल चोरी भएका घटनाको अनुसन्धानका क्रममा उनीहरुलाई पक्राउ गरिएको हो।  

पक्राउ परेका व्यक्तिहरुबाट मोटरसाइकल, चोरी गर्न प्रयोग गरिने औजारहरु समेत बरामद गरिएको प्रहरीले जनाएको छ। उनीहरुलाई कारबाहीका लागि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नान्तीराज गुरुङले बताए। (रासस)

 

प्रकाशित मिति: १६:४२ बजे, सोमबार, कात्तिक २४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्