Kathmandu Press

हिमपातअघि सकियो वार्षिक परीक्षा

जाजरकोट, कात्तिक २३ : चिसो मौसममा विद्यालय बन्द हुने उपल्लो डोल्पाको तीनमध्ये दुई स्थानीय तहका केही सामुदायिक विद्यालयमा वार्षिक परीक्षा सञ्चालन गरिएको छ।...
हिमपातअघि सकियो वार्षिक परीक्षा

जाजरकोट, कात्तिक २३ : चिसो मौसममा विद्यालय बन्द हुने उपल्लो डोल्पाको तीनमध्ये दुई स्थानीय तहका केही सामुदायिक विद्यालयमा वार्षिक परीक्षा सञ्चालन गरिएको छ। डोल्पोबुद्धका ६ विद्यालयमध्ये पाँच विद्यालयले नतिजासमेत सार्वजनिक गरिसकेका छन्।

वडा नं २ र ४ का टसी गोमाङ बाल विकास केन्द्र, बाल विकास केन्द्र, सिद्धार्थकुला आधारभूत, र इन्द्रधनुष आधारभूत विद्यालयले वार्षिक परीक्षा सकेका हुन्। वडा नं ३ को क्रिष्टल माउन्टेन विद्यालयले परीक्षाको तयारी गरिरहेको छ। एक महिनाभित्रै परीक्षा गराएर यो वर्षको शैक्षिक सत्र सक्ने विद्यालयको योजना छ। गाउँपालिकाका सामुदायिक विद्यालयमा हरेक वर्ष कात्तिकमै वार्षिक परीक्षा सञ्चालन हुन्छ।

अत्यधिक चिसो हुने भएकाले माथिल्लो डोल्पाका तीन स्थानीय तहका सबै विद्यालयमा फागुनमा शैक्षिक शत्र शुरु भएर कात्तिकमा सकिने गरेको छ। स्थानीय पेमा गुरुङले नतिजा सार्वजनिक गरेका विद्यालय बन्द भइसकेको बताए। यो वर्ष सरकारी निकायले परीक्षा सञ्चालनमा सहयोग नगरेपछि विद्यालय व्यवस्थापन समिति र अभिभावकको सक्रियतामा परीक्षा सञ्चालन गरिएको हो।

यही समयमा वार्षिक परीक्षा सक्नुपर्ने उपल्लो डोल्पाको छार्काताङसोङ गाउँपालिकाका चार विद्यालयले पनि वार्षिक परीक्षाको नतिजा सार्वजनिक गरिसकेका छन्। तीन विद्यालयले कोरोनाका कारण तीन महिना विद्यालयमा पठनपाठन बन्द गरेर अहिले परीक्षा गराएर विद्यालय बन्द गरेका हुन्।

शे फोक्सुण्डो गाउँपालिकाका विद्यालय पनि वार्षिक परीक्षाको तयारीमा छन्। विद्यार्थीहरु परीक्षाको तयारीमा जुटेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद न्यौपानेले बताए। जसरी भए पनि १२ वटै विद्यालयले हिमपातअघि नै नतिजा प्रकाशन गर्ने योजना बनाएको गाउँपालिकाले जनाएको छ।

प्रकाशित मिति: १७:१७ बजे, आइतबार, कात्तिक २३, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्